
अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- २५ बाङ्गेमुढा बस्ने भारतको पश्चिम बंगाल कलकत्ता पश्चिम मेदिनीपुरका ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बंगाल मेदनापुर समङ थानाका ३० वर्षीय आनन्द साहू छन् ।
भन्सार छलेर ल्याइएको सुन काठमाडौं न्युरोडलगायत विभिन्न स्थानमा अवैध रूपमा बिक्री वितरण गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले आनन्दलाई ११६.४५ ग्राम सुनसहित काठमाडौं न्युरोडबाट बुधबार पक्राउ गरेको हो ।
थप अनुसन्धानका क्रममा उक्त सुन प्रशन्जितको रहेको भन्ने खुल्न आएपश्चात उनलाई पनि बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।