
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कृषिमा लगानी दशक सान्दर्भिकता र निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरूको सुझाव कार्यान्वयन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने पनि बताए ।
सरकारले कतिपय कृषि उपजको आयातमा रोक लगाइएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्ने लाई कारबाहीको दायरामा ल्याउन जरुरी रहेको बताए ।
कृषिको विकासका लागि थप लगानी वृद्धि गर्न जरुरी रहेको मन्त्री अधिकारीले बताए ।
मन्त्री अधिकारीले निजी क्षेत्रसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन उनले आग्रह गरे ।
गरिवीबाट मुक्ति पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुनुपर्ने उनले बताए । मन्त्री अधिकारीले पछिल्लो समय कृषि कर्म गर्नेहरूको संख्या घट्नु चिन्ताको विषय भएको बताए ।
मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्म गर्नेहरूलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताए ।
कृषिमा सहज लगानीको वातावरण बनाउन आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य शर्त हुनेमा जोड दिए ।