भारतको छत्तीसगढस्थित बिलासपुर जिल्ला उपभोक्ता अदालतले विद्युत कटौतीका कारण आइसक्रिम पग्लिएको घटनामा राज्य विद्युत वितरण कम्पनीलाई दोषी ठहर गरेको छ ।
आइसक्रिम पार्लरका सञ्चालक स्वराज घोषलाई कम्पनीले क्षतिपूर्ति तिर्नुपर्ने भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आयोगले विद्युत् कम्पनीलाई कुल २० हजार रुपैयाँ मुआब्जा तिर्नुपर्ने आदेश दिएको छ । जसमा मुआब्जा ६१३५, त्यसमा १८ प्रतिशत ब्याज, मानसिक क्षति र मुद्दा चलाउने खर्च समावेश छ ।
आइसक्रिम पार्लर सञ्चालकले २०२१ फेब्रुअरी १६ र १७ मा २४ घण्टा विद्युत कटौती भएको निवेदनमा उल्लेख छ । जसका कारण पार्लरको आइसक्रिम र फ्रोजन उत्पादनमा ठूलो नोक्सानी भएको दैनिक जागरणले जनाएको छ ।
गुनासो गरे पनि विद्युत वितरण कम्पनीले विद्युत आपूर्तिमा भएको अवरोध सुधार गर्न लापरवाही गरेको समाचारमा उल्लेख छ ।
नियमअनुसार सहरी क्षेत्रमा सामान्य काममा ६ घण्टा र ठूला काममा २४ घण्टा विद्युत् कम्पनीले विद्युत् बन्द गर्न सक्नेछ । यस्तो अवस्थामा कम्पनीले सामान्य कामका लागि सूचना नदिई २४ घण्टा बिजुली बन्द गरेको थियो ।
विद्युत् वितरण कम्पनीले विद्युत कटौती सामान्य प्रक्रिया भएको तर्क गरेको छ ।
आयोगले उजुरीकर्तासँग वैध विद्युत जडान भएको र महशुल नियमित रूपमा तिरिरहेको पत्ता लगाएको छ । आयोगले विद्युत् कटौतीका क्रममा कम्पनीले लापरवाही गरेको र गुनासोलाई ध्यान नदिएकोले उजुरीकर्तालाई आर्थिक तथा मानसिक क्षति पुगेको ठहर गरेको छ ।