०९ असार २०८३, मंगलबार

सांसद तथा पूर्वमन्त्री गुप्तामाथि आक्रमण प्रयास, दुई जनालाई गाडीबाट निकालेर कुटपिट

कात्तिक १०, २०८१
बुटवल
सांसद तथा पूर्वमन्त्री गुप्तामाथि आक्रमण प्रयास, दुई जनालाई गाडीबाट निकालेर कुटपिट
फाइल तस्वीर ।

लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री चन्द्रकेश (सीके) गुप्तामाथि शनिवार आफ्नै क्षेत्रमा युवाको समूहले आक्रमण प्रयास गरेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित इलाका प्रहरी कार्यालयअगाडि गुप्तामाथि युवाहरूको समूहले उनीमाथि हातपातको प्रयास गरेको हो । मलामी गएर फर्कँदै गर्दा पूर्वसांसद फकरुद्धिन खानको समूहका युवाले आफूहरूलाई आक्रमण गरेको गुप्ताले लोकान्तरलाई बताए । गुप्ताले आफू असुरक्षित भएपछि इप्रका लुम्बिनीमा बसेको जानकारी दिए । फकरुद्धिन नेपाली कांग्रेसका पूर्वप्रदेश सांसद हुन् । 

इप्रका लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीले दुई समूहबीच उत्पन्न विवादका बीच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको जानकारी दिए । प्रहरी कार्यालयअगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरूको समूहले हातपातको प्रयास गरेपछि प्रहरीले गुप्तालाई उद्दार गरी कार्यालयमा पुर्याएको थियो । शनिवार दिउँसो पनि प्रहरी कार्यालय अघि युवाहरूको समूह बसेको छ ।

गुप्ताको गाडी ।

‘प्रहरी कार्यालयको गेटअगाडि नै ममाथि हातपातको प्रयास भयो,’ गुप्ताले भने, ‘मसँगै रहेका दुईजना साथीमध्ये एक जनालाई उनीहरूले गाडीबाट बाहिर निकालेरै कुटपिट गरे । सायद म पनि गाडीबाट बाहिर निस्किएको भए उनीहरूले ज्यान नै लिने थिए होला । मुस्किलले जोगिएँ ।’ 

प्रहरीका अनुसार भैसहियामा युवाहरूबीच विवाद उत्पन्न भएको थियो । उक्त विवादमा पूर्वसांसद फकरउद्दिनका भजित नेतृत्वको समूह र सांसद गुप्ता समर्थकबीचको समूह आपसमा भिडेका थिए । ‘सामाजिक सञ्जालमा स्टाटस लेखेको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यो अवस्थासम्म आएको भन्ने हामीले बुझेका छौं’ उनले भने, ‘थप बुझ्न र समस्या समाधानका लागि दुबै पक्षका व्यक्तिहरूलाई बोलाएर छलफल गर्ने तयारी भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्