
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने तथा मानसिक दबाब दिने षडयन्त्र गरेको दाबी गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले अविलम्ब राजनीतिक प्रतिशोध त्यागी लामिछानेलाई रिहा गर्न समेत सरकारसँग माग गरेको छ ।
यस्तै बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ ।
त्यसका लागि उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने, सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने, आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने जस्ता निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।
यस्तै स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ । यस्तै पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सुचारु गर्ने निर्णय पनि गरेको छ ।