२१ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

काठमाडौँमा माओवादीको शक्ति प्रदर्शन, रास्वपाको आन्दोलन निरन्तर

कात्तिक ११, २०८१
काठमाडौं
काठमाडौँमा माओवादीको शक्ति प्रदर्शन, रास्वपाको आन्दोलन निरन्तर

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले शनिवार खबरदारी सभाको नाम दिएर राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । शनिवार बिहान करिब ११ बजे सुन्धाराबाट जुलुस निकालेर बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुँदासम्म चार–पाँच हजार माओवादी नेता–कार्यकर्ता जम्मा भएका थिए । 

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले खबरदारी सभा आयोजना गरेका हुन्, जसको मुख्यवक्ता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए ।

प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएको भन्दै असन्तुष्टि जनाए । 
संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बताए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।  

पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनका अनुसार बैठकले विषम परिस्थितिमा पार्टीका जिल्ला भेलाहरू स्थगित गरेको भए पनि सांगठनिक र पार्टी गतिविधि भने सञ्चालन गर्नेछ । बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय पनि गरेको छ ।
००००
अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

अविरल वर्षाले क्षति पु–याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले टेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
००००
नेकपा एकीकृत समाजवादीले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ ।

पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए । देशभर पार्टी सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उनले बताए ।
००००
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराईले लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त नेपालको संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिबीच साझा धारणा र एउटै बुझाइ आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले सङ्घीयता र गणतन्त्रसहितको उपलब्धिलाई संरक्षण र सम्वद्र्धन गर्दै लैजानपर्ने आजको आवश्यकता भएको स्पष्ट पारे । 
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गरेका छन् । 

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई मर्न नदिने बताएका छन् ।

परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा एमाले र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले लोकतन्त्रलाई मर्न नदिने उनको भनाइ छ ।
००००
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राणा शासनको अन्त्यपछि कसैले नगरेको काम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको दाबी गरेका छन् । 

माओवादी केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई सुत्न नदिएको दाबी गरे ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर के गर्न खोजेको हो ? भन्दै प्रश्न गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर ३२ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अध्यादेश र अन्य कतिपय मुद्दामा सरकारको आलोचना गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्