
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताको औचित्यमाथि प्रश्न उठ्न थालेको बताएका छन् ।
प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा सरकारले काम गर्न नसकेको भन्दै उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुको सट्टा अंकुश लगाउने काम भएको बताए ।
नेपाल प्रेस युनियन, रुपन्देहीद्वारा सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनमा रहेको केन्द्रीकृत मानसिकताका कारण जनताले संघीयताको अनुभूति गर्न नपाएको बताए ।
स्थानीय तहका जनता तथा कार्यकर्ताको भावना र समस्या बुझ्न आफूले सभापतिसँग पालिका सम्वाद कार्यक्रम लिएर स्थानीय स्तरमा पुगेको भन्दै उनले त्यस क्रममा जनस्तरबाट पनि संघीयताको अनुभूति गर्न नपाएको गुनासो गरेको जानकारी गराए ।
कांग्रेस मात्रै नभएर सबै पार्टीका केन्द्रीय नेतृत्वमा रहेका नेता तथा कर्मचारी संयन्त्रले संघलाईनै बलियो बनाउनतर्फ लागेको उनको दाबी छ । उनले राजनीतिक नेतृत्वले केन्द्रीकृत मानसिकता त्यागेर जनताका आवश्यकता र मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
जनताको लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै सभापति पुनले भने, ‘कि संघीयताको मर्म र भावनाअनुसार चल्नुपर्छ, संघीयता आवश्यक छैन भने खारेज गरिदिए हुन्छ । प्रदेश सरकारका मन्त्री छनोट पनि केन्द्रबाटै गर्ने हो भने संघीयताको कुनै अर्थ हुँदैन ।’
देश संकटमा परेका बेला कांग्रेस-एमाले एक ठाउँमा उभिने गरेको स्मरण गर्दै उनले अहिले पनि मुलुकको अवस्था त्यस्तै रहेको उनले बताए ।
राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि दुई ठूला दल मिलेको भन्दै सभापति पुनले वर्तमान सरकारलाई फलनाले गर्न दिएन भनेर उम्किने छुट नभएको बताए ।