१० साउन २०८३, आइतबार
साफ महिला च्याम्पियनसिप

नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो

कात्तिक १४, २०८१
काठमाडौं
नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो

दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।​​​

नेपालले विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको पहिलो हाफको १० मिनेटमा नेपालकी अनुशा कार्कीले गरेको उत्कृष्ट प्रहार गोल पोस्टको माथिल्लो बारमा लागेर बाहिरियो । खेलको २४ औँ मिनेटमा बङ्गलादेशको प्रहार नेपालकी गोल किपर अञ्जली तुम्बापो सुब्बाले उत्कृष्ट बचाऊ गरिन् ।

त्यस्तै खेलको २९औं मिनेट सावित्रा भण्डारी (साम्बा) ले दिएको सुन्दर पासलाई अमिशा कार्कीले गोल गर्नबाट चुकिन् ।

त्यसपछि खेलको ४१औं मिनेटमा बङ्गलादेशले कर्नर पायो तर नेपाली खेलाडीले त्यसलाई विफल पारिदिए । उक्त कर्नर फाइनल खेलको पहिलो कर्नर हो ।​

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमेत दशरथ रङ्गशाला पुगेका छन् ।

सन् २०१० मा बङ्गलादेशबाट शुरू भएको साफ महिला च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

यसअघि पटक पटक फाइनलसम्म पुगे पनि नेपाल उपविजेतामै  चित्त बुझाउन बाध्य बनेको थियो ।

नेपालले साफ महिला च्याम्पियनसिपमा चार पटक भारतसँग तथा एक पटक बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो । 

यसपटक भने घरेलु मैदानमा अघिल्लो सँस्करणमा बङ्गलादेशसँगको हारको बदला लिन चाहन्छ ।

नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन् । नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन् । 

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको  थियो ।

यस्तै बङ्गलादेशले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्