
नवलपुर २२ कात्तिक– प्रदेश निर्माणको क्रममा चार नम्बर प्रदेशमा परेर बनेको नवलपरासीको पूर्वी भेग नवलपुरमा चुनावी सरगर्मी बढेको छ । नेपालको कान्छो जिल्ला भनेर चिनिने यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् ।
संविधानसभाका दुईवटै चुनावमा विजयी भएका शशांक यसपटक नबलपुर १ बाट प्रतिनिधि सभाका लागि चुनाव लड्दैछन् । २०६४ सालको चुनावमा माओवादी केन्द्रका ठाकुर प्रसाद चापागाईलाई पराजीत गरेर विजयी भएका शशांक यसपटक माओवादीका भविश्वर पराजुलीसँग चुनावी मैदानमा भेट हुँदैछ । क्रान्तिकारी माओवादीका पिताम्बर तिवारी, नयाँ शक्तिका कृष्णप्रसाद गौतम र विवेकशील साझा पार्टीका हरिप्रसाद गौतम पनि चुनावी प्रतिष्पर्धामा छन् ।
०६४ सालको चुनावमा शंशाकले १७ हजार ४ सय ३० मत पाएर विजयी हुँदा माओवादीका चापागाइले १४ हजार ९ सय ७२ मत पाएका थिए भने एमालेका देउकला बरालले ८ हजार ६ सय ४८ मत प्राप्त गरेकी थिइन् । दोस्रो संविधानसभा चुनावमा एमालेका दीपक अधिकारीलाई पराजीत गरेर शशांक दोस्रो पटक वियजी भएका थिए ।
२०७० सालको चुनावमा शशांकले १८ हजार २ सय २८ मत पाएर विजयी हुँदा एमालेका अधिकारीले १२ हजार १ सय १० मत पाएका थिए । तर गत स्थानीय तहको चुनावमा कांग्रेसको गढ मानिने गैडाकोट नगरपालिकाको मेयरमा एमाले विजयी भएको थियो । साविकको चुनावी क्षेत्रमा केही थपघट भएका कारण चुनावी अंकगणित बदलिएको ठानिएको छ । बामपन्थी गठबन्धनले आफूहरु बहुमतमा रहेको दावी गरेका छन् ।
दुईपटक प्रत्यक्ष निर्वाचित भएपनि कोइराला वितेका दश वर्षमा मन्त्री बनेनन् । गतबर्ष गम्भीर अस्वस्थ भएका कोइरालाले अस्पतालमा पुर्नजीवन प्राप्त गरेका थिए । आगामी महाधिवेशनमा शशांक कांग्रेस सभापतिको उम्मेदवार बन्ने चर्चा छ ।
प्रदेश सभातर्फ ‘क’बाट पूर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, तथा ‘ख’ बाट पूर्व सभासद् महेन्द्रध्वज जिसी उम्मेदवार बनेका छन् । २०६४ सालको चुनावमा जिसी नवलपरासीबाट प्रत्यक्ष चुनाव जितेका नेता हुन् ।
वामपन्थी गठबन्धनको तर्फबाट प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को ‘क’मा माओवादी केन्द्रका सूर्य न्यौपाने, र ‘ख’मा पूर्व सभासद रोशन गाहा उम्मेदवार छन् ।
नवलपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका विष्णु कार्की र वामगठबन्धनका तर्फवाट एमालेका तिलक महत चुनावी प्रतिष्पर्धामा छन् । क्रान्तिकारी माओवादीका नारायण पंगेनी र नयाँ शक्तिका पिताम्बर महतो उम्मेदवार छन् । यो क्षेत्रमा प्राय सबै उम्मेदवार नयाँ छन् ।
कांग्रेस उम्मेदवार कार्की समाजसेवीको रुपमा चिनिन्छन् । एमाले उम्मेदवार महत पनि बौद्धिक युवा नेताको रुपमा परिचित छन् । विगतमा युवा संघमा काम गरेका महत एमालेका बैकल्पिक केन्द्रीय सदस्य हुन् ।
नवलपुर क्षेत्र नम्बर २ ‘क’ मा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किसान शर्मा गैरे तथा ‘ख’मा नेकपा एमालेका जनकलाल श्रेष्ठ उम्मेदवार छन् ।
नेपाली कांग्रेसको तर्फबाट ‘क’मा कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछाने र ‘ख’मा गणेशमान महतो उम्मेदवार बनेका छन् । नवलपुरमा मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुँदैछ ।