
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालमा आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्ने भएका छन् ।
सामान्यतयाः नेपालका प्रधानमन्त्रीले पद सम्हालेपछि पहिलो विदेश भ्रमणका रूपमा भारत जाने परम्परा छ । तर, यसपटक ओलीले पहिलो राजकीय भ्रमण चीनबाट गर्ने भएका हुन् ।
यद्यपि यसअघि ओली अमेरिका गइसकेका छन् । त्यो औपचारिक राजकीय भ्रमण होइन ।
संयुक्त राष्ट्रसंघ महासभाका दौरान असोज पहिलो साता अमेरिकामा प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए । यही भेटपछि ओलीको चीन भ्रमणको तयारी अगाडि बढेको स्रोतको भनाइ छ ।
सोही भेटमा नै चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति सी चिनफिङसँग भ्रमणबारे कुरा गरेर निमन्त्रणा पठाउने बताएका थिए । प्रधानमन्त्रीको चीन भ्रमणबारे कुराकानी हुँदा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी भएकी थिइन् ।
‘न्युयोर्कमा नेपालका प्रधानमन्त्रीसँग चिनियाँ विदेशमन्त्री वाङ यीको शिष्टाचार भेट भएको थियो । उनले मिति तोकेका थिएनन् । तर, तपाईंलाई डिसेम्बरमा बोलाउँछौं भनेर प्रधानमन्त्रीलाई भनेका थिए,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘शायद त्यसपछि नै चीनले नेपालका प्रधानमन्त्रीको भ्रमणको तयारी गरेको हुनुपर्छ ।’
वाङ यी चीन फर्किएपछि नेपालका प्रधानमन्त्रीको भ्रमणको विषय टुंगो लागेको स्रोतले जानकारी दियो । यसपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीन भ्रमणको तयारीलाई अगाडि बढाएका हुन् ।
मंसिरको तेस्रो साता प्रधानमन्त्रीले चीन भ्रमण गर्ने गरी तयारी अगाडि बढेको बताइएको छ । प्रधानमन्त्रीनिकट स्रोतले पनि चीन भ्रमणमा जाने तयारी भएको जानकारी दियो । तर, भ्रमणको औपचारिक मिति तय नभइसकेको स्रोतको दाबी छ ।
‘प्रधानमन्त्रीले चीन भ्रमण गर्ने कुराकानी भएको छ । तयारी पनि अगाडि बढेको छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘अहिलेसम्म मंसिर तेस्रो साताको कुरा आएको छ । मिति पक्का भएपछि परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा भ्रमणको तालिका नै सार्वजनिक गर्छ ।’
एमाले उप–महासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमण प्रधानमन्त्रीको योजनामा रहेको बताए । ‘प्रधानमन्त्रीको चीन भ्रमण गर्ने योजना छ । यसको तयारी पनि भएको छ,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘तर, तयारी मात्रै हो, मितिको घोषणा भइसकेको छैन ।’
गत सेप्टेम्बर (असोजको पहिलो साता) प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट गरेका थिए । उनीहरूबीच आधा घण्टा कुराकानी भएको थियो ।
कूटनीतिक संयन्त्र बनाएर दुई देशबीच देखिएका समस्या समाधान गर्नेसहितका विषयमा छलफल भएको थियो । सो भेटमा ईपीजी प्रतिवेदन कार्यान्वयनका विषयमा कुनै समझदारी जुटेको थिएन । मोदीसँग सौहाद्र्रपूर्ण छलफल भएपछि पहिलो भ्रमण चीनबाट गर्दा पनि कुनै समस्या नहुने बुझाइमा प्रधानमन्त्री रहेको निकटस्थहरू बताउँछन् ।
‘यसअघि नै हाम्रो प्रधानमन्त्रीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिइसक्नुभएको छ । छोटो भए पनि अमेरिकामा मोदीसँग भेट गर्नुभयो,’ एमाले स्रोत भन्छ, ‘सो भेटमा सौहार्दपूर्ण कुराकानी भएको छ । परराष्ट्र मन्त्री तहमा पनि कुराकानी र संवाद भएका छन् । दुई छिमेकीमध्ये जुनबाट पहिलो भ्रमण गर्दा पनि समस्या हुन्न भन्नेमा हामी छौं ।’
यद्यपि चुच्चे नक्सायुक्त एक सय रुपैयाँका नोट छपाउने, बीआरआई कार्यान्वयन गर्नेबारे प्रधानमन्त्री ओलीले निरन्तर दिएको अभिव्यक्तिपछि भने भारतसँग ओलीको सम्बन्ध सौहाद्र्र नभएको बताइन्छ ।
के–के हुँदैछ प्रधानमन्त्रीको चीन भ्रमणमा ?
ओलीले चीनमा राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन् । यस्तो भेटमा बीआरआई आयोजना अगाडि बढाउने, चीनसँगका हिल्सा, कोरोला, किमाथांका नाका पुनः खुलाउने, सिगात्से–केरुङ–काठमाडौं रेलमार्ग बनाउने, नेपालमा चीनले बनाइदिएको एयरपोर्टको ऋण मिनाहाका लागि प्रस्ताव गर्ने विषय एजेन्डा बन्न सक्ने देखिन्छ । तर, भ्रमणको औपचारिक टुंगो नलागिकन एजेन्डा तय नहुने एमाले नेता ज्ञवाली बताउँछन् ।
‘भ्रमणको टुंगो नलागी सम्भावित एजेन्डा टुंगिने भन्ने हुँदैन,’ ज्ञवालीले भने, ‘भ्रमणका क्रममा उठाउने एजेन्डाको खाँचो हुँदैन । अगाडि नै एजेन्डा तय हुँदैन । दुवै देशले तयारी गरेपछि एजेन्डा तय हुन्छन् ।’
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आएका थिए ।
चीन जाँदैछिन् आरजु ?
सामान्यतया भारतले प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न विदेशमन्त्रीलाई पहिले भ्रमण गराउने गर्छ । तर, चीनले सधैं यस्तो अभ्यास गर्ने गरेको छैन । यद्यपि परराष्ट्र मन्त्री आरजु राणा देउवाले चीनले निम्तो दिए भ्रमणमा जाने सार्वजनिक रूपमै बताइसकेकी छिन् ।
‘उहाँ केही समयअगाडि भारतको भ्रमणमा जानुभएको थियो । भारतले उहाँको भ्रमणलाई उच्च महत्त्व पनि दिएको थियो,’ परराष्ट्र मन्त्रीनिकट स्रोतले भन्यो, ‘केही दिनअगाडि सरकारको एक सय दिन पुगेको अवसरमा सञ्चारकर्मीले भारत जानुभयो, चीन कहिले जानुहुन्छ ? भन्ने प्रश्न गर्दा उहाँले चीनले बोलाए जान्छु भनेर जवाफ दिनुभएको हो ।’
भारतले आरजुलाई निकै महत्त्वका साथ स्वागत गरेर प्रधानमन्त्री ओलीलाई बेवास्ता गरेको पनि कतिपयको बुझाइ छ ।
भारतमा उच्च सम्मान पाए पनि आरजुले चीन र भारत दुवै छिमेकी बराबर भएको बताएकी थिइन् । पहिलोपटक परराष्ट्र मन्त्री भएकी आरजुले छिमेकीबीच सन्तुलन मिलाउने गरी अभिव्यक्ति दिएकी छिन् ।
‘चीनले बोलाएर नगएको होइन । हाम्रो लागि चीन र भारत दुवै बराबरका छिमेकी हुन्,’ आरजुले केही दिनअगाडि भनेकी थिइन्, ‘चीनले निम्ता गरेर पनि भ्रमणमा नगएको होइन । चीनले निम्तो दिए जान्छु ।’