
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताए ।
‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ’, उनले भने, ‘कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।’
००००
‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ । एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।
००००
यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।
मौसमविद् सञ्जिव अधिकारीले भाइटीकाको दिन हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए ।
००००
नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले डा मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए । डा मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन् ।
००००
यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।
००००
तिहारमा फूलको व्यापारलाई व्यवस्थित बनाउन भन्दै काठमाडौं महानगरपालिकाले किसानका लागि ४७ स्थान तोकेको थियो । तर महानगरको उक्त निर्णय कार्यान्वयनमा आउन सकेन ।
विभिन्न पार्टी प्यालेस, व्याङक्वेट, शपिङ मल, कम्प्लेक्स, खाली चौर र केही खुल्ला क्षेत्रसहित महानगरले ४७ स्थानमा ३० स्क्वायर फिटदेखि ५ हजार स्क्वायर फिटसम्मको स्थान निर्धारण गर्न महानगरले आग्रह गरेको थियो ।
सोहीअनुसार व्यवसायीहरूले फूल किसानका लागि निश्चित क्षेत्र छुट्याएर राखे । तर उक्त स्थानमा गएर व्यापार गर्न किसानहरू रुचाएनन् । उनीहरूले फुटपाथदेखि धर्मशाला क्षेत्र वरिपरिनै फूलहरू बेचिरहेका छन् ।
००००
काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ ।
नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
००००
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार छ सय दुई मेगावाट बराबर रहेको छ ।
लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६ः२५ बजे पिक डिमाण्ड रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार चार सय ३८ मेगावाट थियो ।
गत वर्षकोभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड एक सय ६४ मेगावाट बढी हो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो ।