
आज तिहारको भाइटीकाको दिन । आज देशभर मौसममा पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसअनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
यस्तै दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एकदुई स्थानमा भने मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।