२३ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

दुई मन्त्री र आईजीपी विदेश उडे, रवि लामिछानेलाई रुपन्देही लगिँदै

कात्तिक १९, २०८१
काठमाडौं
दुई मन्त्री र आईजीपी विदेश उडे, रवि लामिछानेलाई रुपन्देही लगिँदै

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुखय दिन आइतबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो ।

आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले सोमबार पनि तिहारकै बिदा दिएको छ।
अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाएका छन् । 
राष्ट्रपति पौडेलले आइतबार बिहान शितलनिवासमा ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका हुन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । आइतबार दिनभर नै हिन्दुधर्मावलम्बी दाजुभाइले दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाएका थिए । 
००००
दिदीबिहिनी नहुने दाजुभाइ तथा दाजुभाइ नहुने दिदीबहिनीले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा भाइटीका लगाएका छन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् ।
००००
बाराको बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोर्ने पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका—१६ बस्ने शम्भु राय, सन्दिप राय र पर्सा पकहाँमैनपूर गाउँपालिका( ५ का पवन यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
००००
व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ । 

समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ खानेपानी र शौचालय अभाव हुनाका साथै फोहोर व्यवस्थापनको चुनौती बढेको हो । कोरला नाका घुम्न गएकी पोखराकी रक्षा श्रेष्ठले व्यवस्थित सार्वजनिक शौचालय नहुँदा झाडी खोज्नुपर्ने समस्या रहेको गुनासो गरिन् ।
००००
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्नामा इन्डियन नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ढुङ्गे देउरालीमा आइतबार साँझ एचआर ५५ एयु ८७९३ नं को कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
००००
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्ट प्रस्थान गरेका छन् । वल्र्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन् ।
००००
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् । 

नयाँ दिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म आयोजित सातौं गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आइतबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
००००
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर संयुक्त राज्य बेलायत प्रस्थान गरेका छन् । इन्टरपोलको ९२औँ महासभामा सहभागी हुन उनी आइतबार बिहान बेलायत प्रस्थान गरेका हुन् । 
००००
थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान आइतबारबाट शुरू गरेको छ।

थाइले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो । यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र बिहीबार उडान गर्नेछ ।
००००
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा वन सचिव डा दीपककुमार खराललगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।
००००
सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी भएको छ । उनी हाल सहकारी ठगीकै अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । 

लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाइसकेको छ । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्