अमेरिकी राष्ट्रपतीय चुनावको परिणामले विश्वभरका लगानीकर्तामा उत्सुकता पैदा गरेको छ । विशेष गरी एसियाली बजारमा यसको प्रभाव देखिएको छ ।
अमेरिकाको आर्थिक नीतिले एसियाली बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा यस क्षेत्रका लगानीकर्ताहरू चुनावी परिणामलाई नजिकबाट हेरिरहेका छन् ।
चुनावको परिणामले अमेरिकाको अर्थनीति र व्यापार सम्बन्धमा व्यापक प्रभाव पार्न सक्ने भएकाले एसियाली बजारहरूमा अहिले मिश्रित प्रतिक्रिया देखिएको छ ।
जापानको निक्केई- २०० सूचकांक २% ले उकालो लागेको छ भने अस्ट्रेलियाको एएसएक्स-२०० पनि १% ले बढेको छ । तर, चीनको शाङ्घाई कम्पोजिट स्थिर रहेको छ भने हङकङको ह्याङ साङ सूचकांक २.५% ले घटेको छ ।
अमेरिकी डलर र बिटक्वाइनको मूल्यमा वृद्धि
अमेरिकी डलरको मूल्य १% भन्दा बढी वृद्धि भएको छ । निर्वाचनको परिणाम आउँदै गर्दा युरो, पाउन्ड र जापानी येनसँग गरिएको तुलनामा डलरको मूल्य बढ्दै गएको हो । योसँगै विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन पनि नयाँ कीर्तिमान कायम गर्दै ७५ हजार डलरभन्दा माथि पुगेको छ ।
ट्रम्पको संरक्षणवादी व्यापार नीतिको प्रभाव
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएमा विशेष गरी चीनमाथि थप कर लगाउने सम्भावना रहेको विश्लेषण गरिएको छ ।
ट्रम्पको संरक्षणवादी व्यापार नीतिले एसियाली बजारमा चिन्ता पैदा गरेको छ । मुडिज एनालिटिक्सकी आर्थिक अनुसन्धान निर्देशक क्याट्रिना एलका अनुसार ट्रम्पको व्यापार नीतिले एसियामा व्यापार प्रवाहलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ ।
अमेरिका-चीन सम्बन्धमा आउन सक्ने सम्भावित तनावले ताइवानको सुरक्षामा पनि प्रश्न उठाएको छ । ताइवानमा धेरै महत्त्वपूर्ण कम्प्युटर चिप उत्पादन हुने गरेको छ ।
यी चिपहरू आधुनिक प्रविधि क्षेत्रमा अत्यन्त महत्त्वपूर्ण मानिन्छन्, जसले गर्दा ताइवानको सुरक्षामा अमेरिकी भूमिका महत्त्वपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ ।
ह्यारिसको व्यापार र विदेश नीतिको अपेक्षा
यदि कमला ह्यारिसले चुनाव जितेमा उनको व्यापार र विदेश नीति जो बाइडेनकै नीतिको निरन्तरतामा हुने अपेक्षा गरिएको छ । विश्लेषकहरूले ह्यारिसको नीतिलाई प्रेडिक्टेबल (पूर्वानुमान योग्य) र सन्तुलित मानिरहेका छन् ।
ह्यारिस प्रशासनले बैंकिङ, स्वास्थ्य सेवा जस्ता क्षेत्रमा नियमन कडा गर्न सक्ने सम्भावना छ, जसले ठूलो व्यवसायहरूमाथि प्रभाव पार्न सक्छ ।
डेमोक्र्याटिक पार्टीको नवीकरणीय उर्जा प्रवर्द्धन गर्ने नीतिले विद्युतीय सवारी साधन र सोलार कम्पनीहरूलाई फाइदा पुग्न सक्ने अनुमान अमेरिकी सञ्चार माध्यमहरूले गरेका छन् ।
अमेरिकी फेडरल रिजर्भको निर्णय र चीनको योजना
बिहीबार अमेरिकी फेडरल रिजर्भले ब्याजदरसम्बन्धी घोषणा गर्ने कार्यक्रम छ ।
फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको टिप्पणीलाई विश्वभरि नै निकै महत्त्वका साथ हेरिनेछ ।
योसँगै शुक्रबार चीनका उच्च अधिकारीहरूले चीनको अर्थव्यवस्था सुस्ताउने समस्यालाई सम्बोधन गर्न नयाँ योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यसले पनि एसियाली बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ ।