१० असार २०८३, बुधबार

नेपालमा दर्ता भयो ‘टिकटक’

कात्तिक २१, २०८१
काठमाडौं
नेपालमा दर्ता भयो ‘टिकटक’

​सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रूपमा सामाजिक सञ्जाल ‘टिकटक’ सूचीकरण भएको छ । 

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३  को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।

सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ । 

मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो ।

दशैं, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बास्तोलाले मंगलबार टिकटक प्लेटर्फम विधिवत्‌रूपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिए । 

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाई समेत यथाशीघ्र सूचीकरण गराउन  मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । 

साथै हालसम्म ‘टिकटक’सँगै, ‘भाइबर’ र ‘वी टक’ लगायतका सामाजिक सञ्जाल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भइसकेका छन् ।

'अरु सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा छन्,' उपसचिव बास्तोलाले भने, 'सकेसम्म सबैलाई समयमै व्यवस्थित गर्ने मन्त्रालयको प्रयास रहन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्