२७ जेठ २०८३, बुधबार

सयपत्री फूल बेचेर स्याङ्जाका एक किसानले कमाए पाँच लाख

कात्तिक २२, २०८१
स्याङ्जा
सयपत्री फूल बेचेर स्याङ्जाका एक किसानले कमाए पाँच लाख
फाइल तस्वीर

स्याङ्जाका एक किसानले दशैंतिहारको अवधिमा सयपत्री फूल बेचेर पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गरेका हुन् । 

उनले दशैं तथा तिहार अवधिमा माला एकहजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गरेका हुन् । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६०० गरी कूल चार लाख ९१ हजार ६०० आम्दानी गरेको उनले बताए ।

भण्डारीले फूलका थुङ्गा प्रतिकेजी दुई सय ५० देखि तीन सय र माला प्रतिगोटा एक सय ५० सम्म बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायत बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले बताए । 'माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौं,' उनले भने, 'सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौं ।'

बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले बताए । यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको व्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताए ।

पेसाले कृषि प्राविधिक अध्ययन गरेका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आएका छन् । 'फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ,' रामचन्द्रले भने, 'अब उत्पादन हुनेमध्येको केही फूलको माग भई आएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायत धार्मिक तथा मेला महोत्सवहरूमा खपत हुने छ ।'​

दशैंतिहारको अवधिमा फूलको ब्यापारबाट झण्डै पाँच लाख आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै दुई लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पकोरूपमा फूलखेती थालेका हुन् । खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पकोरूपमा फूल खेती गरेका भण्डारीले यसवर्षदेखि सयपत्री फूलको व्यावसायिक उत्पादन थालेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्