
काठमाडौं, २३ कात्तिक — भारतको राजधानी नयाँ दिल्ली ग्यास च्याम्बरमा परिणत हुँदै गइरहेको छ । अत्यधिक प्रदूषणका कारण त्यहाँका मानिसको स्थिति नाजुक भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, बिहीवार बिहान दिल्लीको पञ्जाबी बागमा हावाको गुणस्तर सूचकांक ७९९ रेकर्ड भयो । यो भनेको अत्यन्तै खतरनाक स्थिति हो ।
यस्तो स्थिति आएपछि दिल्ली एनसीआरका ल्युटिनेन्ट गभर्नर अनिल बैजलले मुख्यमन्त्री अरविन्द केजरीवालसँग आपत्कालीन बैठक गरेका छन् ।
दिल्लीमा रहेका १२ कक्षासम्मका विद्यालयहरू आइतवारसम्म बन्द गरिएका छन् । गाडी पार्किङ शुल्क चार गुणा बढाइएको छ ।
अर्को आदेश नआउन्जेलसम्म दिल्लीमा बाहिरबाट आउने ट्रकहरूको प्रवेश निषेध गरिएको छ । हरियाणामा सबै क्रशरहरू बन्द गरिएको छ ।
एम्स अस्पतालमा सास र मुटुसँग सम्बन्धित रोगीको संख्या २० प्रतिशतसम्म बढेको छ । फोर्टिस अस्पतालमा २४ घन्टामा श्वासप्रश्वासका रोगीहरूको संख्या २५ प्रतिशतले बढेको छ ।
एम्सका निर्देशक तथा प्रसिद्ध पल्मनोलोजिस्ट डा रणदीप गुलेरियाका अनुसार, दिल्ली एनसीआरमा यो प्रदूषणका कारण ३० हजारजनाको ज्यान जान सक्ने सम्भावना छ ।
चिकित्सकहरूले ४४ लाख बालबच्चा स्कूल जाने गरेको र तीमध्ये आधीलाई मुटुरोगको सम्भावना रहेको बताए ।
सन् १९२५ मा लन्डनमा अहिलेको दिल्लीको जस्तो स्थिति आएको थियो । त्यहाँ चार दिनसम्म पहेंलो रंगको धूँवा छाएको थियो । बेलायती पत्रिका द गार्डियनका अनुसार, त्यसमा परी चार हजारजनाको ज्यान गएको थियो ।
एजेन्सी