
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि आवेदन आह्वान भएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै सो पदमा नियुक्तिका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो ।
००००
छठ पर्वका अवसरमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइएको छ । यससँगै छठ पर्व विधिवतरुपमा सम्पन्न भएको छ । यसअघि बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वको अवसरमा बिहीबार काठमाडौंको कमलपोखरीमा छठी माताको पूजा अर्चनापश्चात उनले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
००००
नारायणगढ–मुग्लिन सडकअन्तर्गत सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८१२ नं को बस चितवनको भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा आपसमा ठोक्किएका हुन् ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।
००००
गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बिहीबार नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको जनाएको छ ।
००००
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको छ । पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको हो ।
००००
गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध कास्की प्रहरीले विभिन्न ४ अभियोगमा अनुसन्धान गरिरहेको छ ।
ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा रविसँग भटाभट बयान लिने काम भइरहेको छ ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की र्पुयाइएका रविले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा २० दिन बिताइसकेका छन् । कास्की प्रहरीको समन्वयमा रविमाथि अनुसन्धान गर्न केन्द्रबाटै प्रहरी नायब उपरीक्षकसुन्दर तिवारीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
पाँचवटा सहकारीहरू क्रमशः सूर्यदर्शन, स्वर्णलक्ष्मी, सानोपाइला, सहारा र सुप्रिमबाट गोरखा मिडियामा गएको ६५ करोड ५४ लाख रुपैयाँ गएको र उक्त रकम अपचलनमा रविको संलग्नता रहेको भन्दै अनुसन्धान भइरहेको हो । लामिछानेलाई ९० दिनसम्म हिरासतमा राख्न सकिने जनाइएको छ ।
००००
आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गतेलाई तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि नेताहरूको जिम्मेवारी तोकेको छ ।
बिहीबार केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं केन्द्रीय सदस्य गणेश पराजुलीको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनमा परिचालनका लागि सातै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको हो ।
००००
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्यानडा र अमेरिकाको भ्रमणपछि उनीहरू बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।
००००
नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला चार हजार रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।