२० असार २०८३, शनिबार

ग्रामथानको चुनाव रोचक बन्ने, ओखलढुंगा समन्वय समितिमा कांग्रेसको पल्ला भारी

कात्तिक २३, २०८१
विराटनगर
ग्रामथानको चुनाव रोचक बन्ने, ओखलढुंगा समन्वय समितिमा कांग्रेसको पल्ला भारी

आगामी मंसिर १६ गते कोशी प्रदेशमा एक पालिका अध्यक्षसहित ९ पदका लागि उपनिर्वाचन हुँदैछ । एक पालिका अध्यक्ष, एक जिल्ला समन्वय समिति प्रमुख र ७ जना वडाध्यक्ष चयनका लागि प्रतिस्पर्धा हुन लागेको हो । 

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष चयनका लागि निर्वाचन हुँदैछ । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

यहाँको चुनाव रोचक बन्ने देखिएको छ । कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार छनोट गरिसकेका छन् । कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ । माओवादीले कांग्रेसबाट भित्र्याइएका पूर्व वडाध्यक्ष नवोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।

नेकपा एमाले भने उम्मेदवार चयनको प्रक्रियामै छ । एमालेले ३ जनाको नाम सिफारिश गरेको छ । गाउँपालिका कमिटीबाट ११ जनाको नाम सिफारिश भएर आएकोमा जिल्लाबाट तुलसी विश्वास, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम प्रदेशमा सिफारिश गरिएको एमाले मोरङ इन्चार्ज जीवन घिमिरेले जानकारी दिए । 

विश्वास र माझीमध्ये एकजना उम्मेदवार बन्ने सम्भावना रहेको नेताहरू बताउँछन् । पालिका र जिल्लामा पठाएका नामका आधारमा कात्तिक २४ गते उम्मेदवारको नाम टुंगो लगाउने एमाले प्रदेश कमिटीले जनाएको छ ।

अध्यक्षको उम्मेदवारमा दाबी गरिरहेका माझी भने तत्कालीन झोराहाट गाउँ विकास समितिका अध्यक्ष हुन् । उनी २०५४ सालमा एमालेका तर्फबाट झोराहाट गाविस अध्यक्षमा विजयी भएका थिए । उनी २०७४ मा ग्रामथान २ मा वडाध्यक्ष बनेका थिए ।

एमालेका अर्का आकांक्षी तुलसी विश्वास पार्टी गाउँ कमिटी उपाध्यक्ष हुन् । उनी २०७९ को निर्वाचनअघि कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् ।

माओवादीले पनि कांग्रेसबाट प्रवेश गराएकालाई उम्मेदवार बनाएपछि कांग्रेसभित्रको अन्तरविरोधमा खेलेर चुनाव जित्ने रणनीतिमा एमाले रहेको छ । 

अघिल्लो निर्वाचनमा यो पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारू ७ हजार ६०५ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझी थारूले ६ हजार ९३ मत पाएका थिए ।

यसैगरी, झापाको कन्काई नगरपालिका– ६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । सो वडामा एमालेबाट दीर्घबहादुर थापा अध्यक्षमा निर्वाचित भएका थिए ।

तेह्रथुमको लालीगुराँस नगरपालिका– ८ मा पनि उपनिर्वाचन हुँदै छ । सो वडामा कांग्रेसबाट तेजमान लिम्बू अध्यक्ष निर्वाचित भएका थिए । 

सुनसरीको गढी गाउँपालिका– ६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष षडानन्द उराउ झाँगरको मृत्यु भएपछि उपनिर्वाचन हुने भएको हो ।

यस्तै, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५ मा पनि उपनिर्वाचन हुँदैछ । सो वडामा कांग्रेसबाट वडाध्यक्षमा गोपीकृष्ण कार्की निर्वाचित भएका थिए । उनको निधन भएपछि उपनिर्वाचन हुँदैछ ।

उदयपुरको त्रियुगा नगरपालिका– १२ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चुडाराज काफ्लेको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उदयपुरकै बेलका नगरपालिका– ९ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर खड्काको निधन भएपछि चुनाव हुँदैछ  । 

यसैगरी, जिल्ला समन्वय समिति ओखलढुंगाको रिक्त प्रमुखका लागि समेत मंसिर १६ मै निर्वाचन हुँदैछ । कांग्रेसबाट समन्वय समितिको प्रमुख निर्वाचित डिल्लीराम खनालको गत वर्ष असोजमा निधन भएको थियो । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसको एकलौटी बहुमत पुग्नेछ । समन्वय समितिका लागि पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गर्न पाउँछन् । जसमा कांग्रेससँग ८ मत रहेको छ भने अन्यदलहरूसँग जम्मा ७ मत छ ।

एक मत भने स्वतन्त्र रहेको छ । मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित ज्ञानेन्द्र रुम्दाली स्वतन्त्र हुन् । अघिल्लोपटक उनले कांग्रेसलाई सघाएका थिए । उनले यसपटक पनि कांग्रेसलाई सघाउने सम्भावना रहेको नेताहरू बताउँछन् ।

यहाँ कांग्रेसले जित्ने पक्का जस्तै भएपछि अन्य दल चुपचाप छन् । 

ताप्लेजुङको सिरजिङ्गा गाउँपालिका वडा नम्बर ३ मा पनि उपनिर्वाचन हुँदैछ । एक वर्षअघि वडाध्यक्ष दिलप्रसाद बोखिम हङकङ गएपछि यहाँ निर्वाचन हुन लागेको हो ।

बोखिमले उतैबाट राजीनामा पठाएपछि उपनिर्वाचन हुन लागेको निर्वाचन कार्यालयले जनाएको छ । उनी कांग्रेसबाट निर्वाचित हुन्  । 

ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३, झापाको कन्काई नगरपालिका– ६, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्