
काठमाडौं, २३ कात्तिक — चिनियाँ कम्पनी स्याओमीले नयाँ स्मार्टफोनको बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको छ ।
स्याओमीले हालै पहिलो सेल्फीसेन्ट्रिक स्मार्टफोन रेडमी वाई१ र रेडमी वाई१ लाइट भारतमा सार्वजनिक गरेको थियो । बुधवार यी स्मार्टफोनहरू पहिलोचोटि अनलाइनमा बिक्रीमा राखिए ।
तीन मिनेटमा सबै फोनको स्टक आउट भयो ।
स्याओमी इन्डियाका निर्देशक मनु कुमार जैनले ट्वीट गर्दै कम्पनीले पहिलो सेलमै दुवै स्मार्टफोन डेढ लाखवटा बेचेको बताए । यी स्मार्टफोन फेरि १५ नोभेम्बरमा बिक्रीका लागि उपलब्ध हुन्छन् ।
सोह्र एमपी सेल्फी क्यामरा भएको रेडमी वाई१ सस्तो फोन हो । रेडमी वाई१ को तीन जीबी –याम र ३२ जीबी स्टोरको मूल्य १५ हजार रुपैयाँ अनि चार जीबी –याम र ६४ जीबी स्टोरको मूल्य १८ हजार पर्छ ।
ओप्पो र भीभो फोनले सेल्फी क्यामरामा बजार कब्जा गरेको भएपनि स्याओमीले चुनौती पेश गरेको छ ।
एजेन्सी