
उत्तर कोरियाले जीपीएस सिग्नलमा अवरोध पुर्याउँदा दक्षिण कोरियाका दर्जनौं विमान तथा पानीजहाजमा समस्या उत्पन्न भएको दक्षिण कोरियाले बताएको छ ।
दक्षिण कोरियाको सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले सिमानासँगैका क्षेत्रहरूबाट लगातार दोस्रो दिन शनिबार जीपीएस सिग्नल अवरोध गरेको र यसले असङ्ख्य उडान तथा पानीजहाज सञ्चालनमा बाधा पुर्याएको छ ।
उत्तर कोरियाली नेता किमजोङ उनले आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई विस्तार गर्दै दक्षिण कोरियासँग इलेक्ट्रोनिक तथा मनोवैज्ञानिक युद्धमा संलग्न भएका छन् । यसले दक्षिण कोरिया र उत्तर कोरियाबीचको तनाव पछिल्लो समय थप तीव्र हुँदै गएको ।
किमको यो रणनीतिअन्तर्गत हजारौं बेलुनमार्फत फोहोर र दक्षिण कोरियाविरुद्धको प्रचार सामग्री फाल्ने अभियान पनि सामेल छ ।
दक्षिण कोरियाको संयुक्त सेनाका प्रमुखहरूले उत्तर कोरियाले पश्चिमी सीमा क्षेत्रका केसोङ र हेजु शहर वरपर शुक्रबार र शनिबार जीपीएस सिग्नलमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
दक्षिण कोरियाली सेनाले सीमा नजिकका क्षेत्रहरूमा विमान र पानीजहाजलाई सावधान गराए तापनि उत्तर कोरियाले कसरी जीपीएस सिग्नलमा अवरोध गरेको थियो भन्ने बारेमा विस्तृत जानकारी भने दिएको छैन ।
दक्षिण कोरियाको संयुक्त सेनाले निकालेको एक वक्तव्यमा भनिएको छ, 'हामी उत्तर कोरियालाई तुरुन्तै जीपीएस हस्तक्षेप रोक्न आग्रह गर्दछौं र यसका परिणामको पूर्ण जिम्मेवार उसैले लिनुपर्ने चेतावनी दिन्छौं ।'
उत्तर कोरियाले गरेको जीपीएस अवरोध र बेलुन अभियानले दक्षिण कोरियाको मुख्य यातायात प्रवेशद्वार इन्चन अन्तर्राष्ट्रिय विमानस्थलको संवेदनशीलता थप जटिल भएको छ ।
यो विमानस्थल उत्तर कोरियाबाट १०० किलोमिटरभित्र पर्छ । विश्लेषक सुकजुन युनले उत्तर कोरियासम्बन्धी ३८ नर्थ वेबसाइटमा लेख्दै भनेका छन्, 'जीपीएस हस्तक्षेपले थप जोखिम बढाउन सक्छ र यो नेभिगेशनल सुरक्षामा अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन हो ।'
सन् २०२४ मा उत्तर कोरियाबाट आएका फोहोर बोकेका बेलुनका कारण विमानस्थलका धावनमार्गको सञ्चालनमा १२ पटकसम्म अवरोध भएको थियो । यस वर्ष किमले सियोलको कन्जरभेटिभ सरकारले आफ्नो पक्षलाई कठोरता अपनाएको भन्दै दक्षिण कोरियाप्रति शत्रुताको संकेत देखाएका छन् ।
उत्तर कोरियाले पटक-पटक संविधान संशोधन गर्दै दक्षिणलाई स्थायी शत्रुको रूपमा स्थापित गरिरहेको छ ।
उत्तर कोरियाले सन् २०२४ को अक्टोबरमा दक्षिण कोरियासँगको सडक तथा रेल सम्पर्कको केही भाग ध्वस्त पारेको थियो ।
यसैगरी नोभेम्बरको सुरुआतमा उसले एक नयाँ अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेर दक्षिण कोरिया र अमेरिकालाई दबाब सिर्जना गर्न खोजेको छ ।
दक्षिण कोरियाली अधिकारीहरूले पश्चिमी सीमा क्षेत्रमा दक्षिण कोरियाको जीपीएस सिग्नलमा अवरोध गर्नुको प्रमुख कारण भन्दै युक्रेनसँग जोडिएको गतिविधिलाई संकेत गरेका छन् ।