
अमेरिकाले शुक्रबार एक इरानी नागरिकमाथि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या योजना बनाएको अभियोग लगाएको छ ।
यो योजना इरानको रिवोल्युशनरी गार्ड कोर्प्सको आदेशमा बनाइएको अमेरिकी न्याय विभागले बताएको छ ।
अभियोगअनुसार फरहाद शकरी नामका व्यक्तिले गत अक्टोबर ७ मा ट्रम्पको हत्या योजना बनाउन आफूले निर्देशन पाएको स्वीकार गरेका छन् । तर उनले सो समय सीमा भित्र योजना बनाउन नसकेको बताएको विभागले उल्लेख गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले यस आरोपलाई अस्वीकार गर्दै यो आरोपलाई इजरायल र अन्य शत्रुले गरेको षडयन्त्रको रुपमा चित्रण गरेका छन् ।
बाघाईले यसलाई अमेरिका र इरानबीचको सम्बन्धलाई बिगार्न गरिएको 'घृणित षड्यन्त्र' भन्दै आफ्ना नागरिकको बचाउ गरेका छन् ।
न्याय विभागका अनुसार ५१ वर्षीय शकरीलाई रिवोल्युशनरी गार्डको प्रतिनिधि मानिन्छ, जो तेहरानमा बसोबास गर्छन् ।
उनी बाल्यकालमा अमेरिका बसाइँ सरेका थिए तर २००८ मा चोरीको आरोपमा देश निकाला गरिएका थिए । शकरी हाल इरानमै रहेको विश्वास गरिएको छ र उनी कानूनको पहुँच बाहिर रहेको बताइएको छ ।
शकरीले भेटेका दुई अमेरिकी निवासी कार्लाइल रिभेरा र जोनाथन लोडहोल्टमाथि पनि एक इरानी मूलका अमेरिकी नागरिकको हत्या योजना बनाउन सहयोग गरेको आरोपमा पक्राउ परेका छन् ।
ती व्यक्तिलाई इरानी सरकारको कट्टर आलोचक मानिन्छ र यसअघि पनि उनीमाथि हत्या प्रयास गरिएको थियो ।
अभियोजन पक्षले उनको नाम खुलाएको छैन तर उनी मसीह अलीनेजाद हुनसक्ने बताइएको छ । अलीनेजादले इरानी महिलाले लगाउने हिजाबको आलोचना गर्दै आएकी छिन् ।
सन् २०२१ मा उनलाई अपहरण गर्ने योजना बनाएको आरोपमा चार इरानी नागरिकमाथि अभियोग लगाइएको थियो भने २०२२ मा उनको घर बाहिर बन्दुकसहित एक व्यक्ति पक्राउ परेका थिए ।
रिवेरा र लोडहोल्ट दुवैलाई मुद्दाको सुनुवाइ नभएसम्म हिरासतमा राख्न आदेश दिइएको छ । आरोपीका वकिलले तत्कालै केही टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
यस घटनाले ट्रम्पको ह्वाइट हाउसमा पुनरागमनको असामान्य परिस्थितिलाई थप जटिल बनाएको मानिएको छ ।