
काठमाडौं, २३ कात्तिक — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको भ्रमणमा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग लामो कुराकानी गरेका छन् ।
बिहीवार यी शीर्ष नेताबीच भएको कुराकानीपछि ट्रम्पले सीसँग मिलेर संसारका सबै समस्या समाधान गर्ने बताएका छन् ।
ट्रम्पले भने, ‘म आशा गर्छु, अब धेरै वर्षसम्म हाम्रो सफलता र मैत्रीले हामी आफ्नै समस्या समाधान गर्न सक्छौं । त्यति मात्र नभई हामी संसारकै पनि सुरक्षासम्बन्धी समस्या समाधान गर्न सक्छौं ।’
चीन भ्रमणको दोस्रो दिन ट्रम्पले सीसँग धेरै विषयमा चर्चा गरे । उत्तर कोरियाका परमाणु हतियारको विषयमा पनि उनीहरूले चर्चा गरेका थिए ।
सीले भने, ‘अमेरिका र चीनको सम्बन्धले नयाँ इतिहास शुरु गर्न लागेको छ । चीनले अमेरिकाका साथ पारस्परिक सम्मानका साथ काम गर्न खोजेको छ र यसबाट दुवै देशलाई फाइदा हुन्छ । पारस्परिक सहयोग बढाउन तथा दूरीहरू
मेट्नका लागि हामीहरू ध्यान केन्द्रित गर्न चाहन्छौं ।’
एजेन्सी