
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सरकार गठनमा सहमति बनेको दोहोर्याएका छन् ।
नेकपा (एमाले)का उपमहासचिव समेत रहेका मन्त्री गुरुङले पार्टी कार्यालय तनहुँमा शनिबार आयोजित भेटघाटमा देशलाई संकट परेका बेला दुई ठूला दल सधैँ मिल्दै आएको स्मरण गरे।
राजनीतिलाई स्थायीत्व दिँदै जनतामा रहेको निराशा चिर्नका लागि दुई पार्टी मिलेर सरकार सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले भने, 'वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा एकखालको निराशा छाएको थियो । दुई ठूला पार्टी मिलेर देशलाई स्थिरतातर्फ लैजाने प्रयास गरेका हौँ ।'
दुई ठूला पार्टीको सरकार बनेपछि चमत्कारका काम नभए पनि अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै समाधान हुँदै गएको उनको दाबी छ। 'जहाँजहाँ समस्या थियो, त्यस क्षेत्रमा समाधानका प्रयास भएका छन् । सरकार ठीक ढङ्गले लयमा अगाडि बढेको छ', मन्त्री गुरुङले भने ।
जनअपेक्षा अनुसारका काम गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङले दोहोर्याए । कांग्रेस-एमाले सरकार सञ्चालनमा एकसाथ तर चुनावमा प्रतिस्पर्धा गर्नेगरी अगाडि बढेको मन्त्री गुरुङको भनाइ छ ।