१० साउन २०८३, आइतबार

एमालेको प्रशंसा गर्दै रास्वपा नेताले मागे माफी, भने- नयाँ पार्टीका रूपमा चुक्यौं

कात्तिक २४, २०८१
काठमाडौं
एमालेको प्रशंसा गर्दै रास्वपा नेताले मागे माफी, भने- नयाँ पार्टीका रूपमा चुक्यौं

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले मानव तस्करी प्रकणमा मुछिएका नेतालाई कारबाही गरेकोप्रति एमालेको प्रशंसा गरेका छन् । 

जापानमा मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीलाई निलम्बन गर्ने एमालेको निर्णयप्रति प्रशंसा गर्दै कार्कीले नयाँ पार्टीका रूपमा आफूहरू चुकेको स्वीकार गरेका छन् ।

'जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्‍याएको तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ । उनीमाथि छानबिनका लागि अनुरोध गरेको छ । यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ । अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौँ', कार्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

उनले नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनुपर्ने नयाँ छवि, हुर्काउनुपर्ने नयाँ प्रवृति र देखाउनुपर्ने पारदर्शी चरित्रका रूपमा आफूहरू चुकेको बताएका छन् ।

'मेरो भागमा पर्ने गल्ति, मौनताका लागि सार्वजनिक रूपमा माफी माग्छु', कार्कीले थपेका छन् ।

जापानमा मानव तस्करी प्रकणमा मुछिएपछि एमाले नेता अधिकारीले कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएका थिए भने पार्टीको जिम्मेवारीबाट समेत हटाउन आग्रह गरेका थिए । 

अधिकारीलाई एमालेको कोशी प्रदेश कार्यालयले पार्टीको संगठित सदस्यताबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ । 

एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई पार्टीमा सक्रिय भूमिका नदिन र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यसहित संगठित सदस्यताबाट पनि निलम्बन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

केही समय पहिले 'अमेरिकामा मानव तस्करी' प्रकणमा उपसभामुख इन्दिरा राना मुछिएपछि कारबाही गर्ने तयारी चल्दा रास्वपा उनका पक्षमा लागेको थियो । भलै यो प्रकरण अहिले सेलाएको छ । कांग्रेस-एमाले लगायतका दलका नेताले उपसभामुखको राजीनामा मागेपनि रास्वपा भने बचाउमा उत्रिएको थियो ।

अहिले रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम अपचलन मुद्दामा प्रहरी हिरासतमा छन् । रास्वपा भने सरकारले राजनीतिक प्रतिशोध साँधेर उनलाई पक्राउ गरेको भन्दै सडक आन्दोलनमा छ । 

शनिबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले समेत रास्वपाको बढ्दो प्रभाव र जनसमर्थन दबाउन आफ्ना सभापति लामिछानेलाई सरकारले षडयन्त्रपूर्वक पक्राउ गरेको ठहर गरेको छ। उसले सरकारको कदमविरुद्ध उत्रिन समेत जनतालाई आह्वान गरेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्