
आगामी मंसिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सव डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुने भएको हो ।
नेपाली कला संस्कृति रीतिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्भाव एकता र भाइचारा बढाउन महोत्सव आयोजना गरिएको आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए ।
करिब ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी ६ महिना अगाडिबाट गरिएको हो । नेपाली परम्परा, संस्कृति, वेशभूषा र खानालाई बाहिरी मुलुक र समाजसँग परिचित गराउने मुख्य अभियान रहेको उनको भनाइ छ ।
यो महोत्सवले देश चिनाउने अवसरसँगै नेपाली समाजलाई एकसूत्रमा बाँध्ने कामका साथै बहुसांस्कृतिक समुदायलाई नेपाली समाजसँग चिरपरिचित गराउन मद्दत गर्ने संयोजक कुँवरले बताए ।
कुँवरका अनुसार महोत्सवस्थल तोमलोङ पार्कमा १४ वटा खाद्य स्टल र चाइनिज गार्डेनमा थप ३५ वटा स्टल रहने छन् । नेपाली समुदायका गतिविधि, व्यापारिक उत्पादन, शैक्षिक परामर्श, नेपाली खाना ढिँडो, गुन्द्रूक, मःमः सेलरोटीलगायत, नेपाली हस्तकलासम्बन्धी सामान प्रदर्शन गरिने छ ।
यसपालि बागमती हस्तकलाले विशेष ‘ह्याण्डीक्राफ्ट’ प्रदर्शनी गर्ने उनको भनाइ छ । महोत्सवको लागत करिब दुई लाख ५० हजार डलर अनुमान गरिएको छ ।