
सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याउँदा नेता कार्यकर्ताहरूले प्रदर्शन गर्ने भएका छन् । लामिछानेलाई आज बिहान कास्कीबाट रूपन्देही ल्याइँदै छ ।
भैरहवाको बुद्धचोकबाट र्यालीसहित जिल्ला प्रहरी कार्यालय हुँदै देवकोटा चोकमा आएर कोणसभा गर्ने रास्वपाका रूपन्देहीका संयोजक बुद्धि शर्माले जानकारी दिए । ‘हामी कुनै पार्टी र नेताविरुद्ध नारा लगाउँदैनौं,' शर्माले लोकान्तरसँग भने, ‘बिहान साढे ११ बजे बुद्धचोकबाट र्याली शुरू हुन्छ । प्रदर्शन मर्यादित बनाउन हामीले आचार संहिता नैं बनाएका छौं ।’
सहकारी पीडितले न्याए र जनताको रकम फिर्ता हुनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनले बताए । पोखराको जस्तो आन्दोलन र प्रदर्शन रुपन्देहीमा नहुने शर्माले संकेत गरे ।
कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने रूपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनमा पनि मुछिएपछि उनलाई ल्याउन लागिएको हो ।