
खानेपानी मन्त्रालयमा सवारी साधनको व्यापक दुरुपयोग भएको पाइएको छ । नियमानुसार मन्त्रीसहित ५ जना कर्मचारीले मात्र सरकारी गाडी चढ्न पाउनुपर्नेमा २० जना कर्मचारी गाडी चढिरहेका छन् ।
मन्त्रालयको आफ्नो गाडी ९ वटा मात्र छ, तर मातहतका निकायबाट झिकाएर मन्त्रीदेखि कर्मचारीहरू गाडी चढिरहेका हुन् ।
खानेपानी मन्त्रालयबाट प्राप्त विवरणअनुसार मन्त्री प्रदीप यादवले तीनवटा गाडी लिएका छन् ।
गृह मन्त्रालयबाट मन्त्रालयलाई हस्तान्तरण गरिएको बा २ झ १०७६ नम्बरको ह्युन्डाई कार चढ्दै आएका मन्त्री यादवले बा २ झ ६६९१ नम्बरको टोयोटा प्राडो पनि प्रयोग गरिरहेका छन् ।

६६९१ नम्बरको प्राडो खानेपानी मन्त्रालयका पूर्वसचिव रामआधार साहले चढ्दै आएका थिए । खानेपानी मन्त्रालयमा सचिव हुँदा प्रयोग गरेको गाडी साहले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा हुँदा ९ महिना र नेपाल ट्रस्टको कार्यालयमा सरुवा भएर जाँदा केही समय प्रयोग गरेका थिए । साह अहिले ट्रस्टको कार्यालयमा सचिव छन् । मन्त्रालयको ताकेतापछि साहले गाडी फिर्ता गरेका थिए ।
गृह मन्त्रालयबाट हस्तान्तरण गरिएको उक्त कार अहिले भने मन्त्री यादवको निवासमा राखिएको छ । 'कार बिग्रिँदा मन्त्रीज्यू प्राडो चढ्नुहुन्छ, प्राडो बिग्रिँदा कार चढ्नुहुन्छ,' मन्त्रालयका एक सहसचिवले लोकान्तरसँग भने ।
त्यसैगरी, मन्त्री यादवले बा २२ च ५०५० नम्बरको फोर्ड गाडी पनि आफूसँगै राखेका छन् । मन्त्री यादवले उक्त गाडी चढ्दै आएको भए पनि जिन्सीमा भने उक्त गाडी मन्त्रीको सचिवालयको जिम्मा भनेर उल्लेख गरिएको छ । प्राडो र फोर्ड आलोपालो चढिरहेका मन्त्री यादवले कार भने निवासमा थन्क्याएर राखेका छन् ।
त्यसबाहेक मन्त्री यादवका तीन स्वकीयले पनि छुट्टाछुट्टै गाडी बुझेका छन् । मन्त्री यादवका स्वकीय उपसचिव निखिल बनरवालले बा २ झ १४७६ को स्कोडा चढिरहेका छन् । त्यसैगरी, मन्त्री यादवका स्वकीय अधिकृत आसुकुमार सर्राफले बा २ झ २५४५ नम्बरको महेन्द्रा एन्ड महेन्द्रा कम्पनीको स्कोर्पियो चढिरहेका छन् ।
त्यसैगरी, मन्त्री यादवका अर्का स्वकीय सचिव साहिब हुसेनले बा २ झ ३७३० नम्बरको स्कोर्पियो चढिरहेका छन् । खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले बा ८ च ६७६० नम्बरको प्राडो चढिरहेकी छन् ।

त्यसैगरी, सहसचिव रामबाबु पुरीले बा २ झ ३०६७ नम्बरको ह्युन्डाई, सहसचिव मीना श्रेष्ठले बा २ झ ४२५२ नम्बरको प्राडो, सहसचिव माधव अधिकारीले बा २ झ ३०६६ नम्बरको ह्युन्डाइ र सहसचिव रमाकान्त दुवाडीले बा २ झ २०९३ नम्बरको निसान पिकअप चढिरहेका छन् ।
मन्त्री, सचिव र सहसचिवहरूले नियमानुसार एक/एक गाडी चढ्न पाउँछन् । तर, मन्त्रालयमा आधा दर्जन बढी उपसचिवहरूले पनि नियमविपरीत गाडी प्रयोग गरिरहेका छन् ।
लेखाका उपसचिव रमेश घिमिरेले बा ११ च ५१९० नम्बरको माज्डा कार प्रयोग गरिरहेका छन् । अर्का उपसचिव टेकनाथ दाहालले बा २ झ २०८९ नम्बरको फोर्ड गाडी प्रयोग गरिरहेका छन् । त्यसैगरी, कानूनका उपसचिव राजाराम दाहालले बा २ झ ३७३१ नम्बरको स्कोर्पियो चढिरहेका छन् ।

उपसचिव जुनु हमालले बा २ झ २०८८ नम्बरको फोर्ड इन्डिया इन्डिगो, सीडीई वीरेन्द्र कँडेल बा २ झ २०३९ नम्बरको स्कोर्पियो, सीडीई प्रभात श्रेष्ठले बा २ झ २०९१ नम्बरको फोर्ड र अर्का सीडीईका लागि बा २ झ २०९० नम्बरको फोर्ड छुट्याएर राखिएको छ ।
उक्त फोर्ड त्यसअघि प्रयोग गरिरहेका सीडीईको सरुवा भएका कारण आउने सीडीईका लागि राखिएको मन्त्रालयका एक कर्मचारीले बताए ।
बा २ झ ९८२ नम्बरको टाटा सफारी बिग्रिएको छ भने बा १७ छ २७६० नम्बरको स्कोर्पियो कसैले प्रयोग नगरेका कारण हस्तान्तरण भएर आएको निकायमै फिर्ता पठाइएको छ ।
खानेपानी मन्त्रालयको आफ्नो नाममा भने ७ वटा गाडी मात्र दर्ता छ ।

'४५७६, १४७६, २५४५, २०८८, २०८९, २०९०, २०९१ २०३९ र ३७३१ नम्बरका सातवटा गाडी मात्र मन्त्रालयको हो,' आन्तरिक व्यवस्थापन शाखाका एक कर्मचारीले लोकान्तरसँग भने, 'बाँकी सबै गाडीहरू मन्त्रालयअन्तर्गतका निकाय, विभाग तथा आयोजनाहरूबाट हस्तान्तरण भई आएको हो ।'
त्यसबाहेक मन्त्रालयमा ३२ वटा मोटरसाइकल/स्कुटर छन् । कार्यालय सहयोगी, सवारी चालक, खरिदार, नायब सुब्बा र अधिकृतसम्मले ती दुईपाङ्ग्रे सवारीसाधन प्रयोग गरिरहेका छन् ।
मन्त्रालयमा मन्त्रीसहित कुल ५५ जना कर्मचारी कार्यरत रहेकोमा २० जनाले चारपाङ्ग्रे र ३२ जनाले दुई पाङ्ग्रे चढिरहेका छन् । यसरी हेर्ने हो भने मन्त्रालयका सबैजसो कर्मचारीले सरकारी सवारीसाधन प्रयोग गरिरहेको देखिन्छ ।
हेर्नुहोस्, गाडीको विवरण :

