
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई मेसिन खरिद प्रक्रियामा कुनै मिलेमतो नभएको दाबी गरेको छ ।
नागरिकलाई सर्वसुलभ शुक्लमा सेवा दिनेगरी विगत चार वर्षदेखि मेसिन खरिद गर्ने प्रक्रिया अघि बढे पनि अहिलेसम्म सफल हुन नसकिरहेको बेला अस्पतालको योजनालाई अप्ठेरो पार्न अनावश्यक हल्ला फैलाइएको अस्पतालको दाबी छ ।
करिब १५ करोडको एमआरआई मेसिन खरिदमा साढे ५ करोड बढी मूल्य तिरेर राज्यलाई नोक्सान पारेर लाभ लिन खोजेको आरोप लागेपछि अस्पतालले पत्रकार सम्मेलनगरी स्पष्टीकरण दिएको हो ।
सार्वजनिक खरिद ऐनको अधिनमा रहेर पारदर्शी ढंगले खरिद प्रक्रिया अघि बढाएको अस्पतालले जिकिर गरेको छ । अस्पताल प्रमुख डा. इन्द्र ढकालले निजी स्वास्थ्य संस्थामा १६/१७ हजार रुपैयाँ शुल्क तिरेर एमआरआई सेवा लिनुपर्ने बाध्यात्मक अवस्था अन्यगरी आधा सस्तो मूल्यमै सेवा लिन पाउने वातावरण निर्माण गर्ने उद्देश्य रहेको बताए ।
३ वर्षअघि सेती प्रादेशिक अस्पतालले १.५ टेस्ला खरिद गर्दाको लागतलाई आधार मानेर अहिले एमआरआई मेसिनको लागत अनुमान गरिएको ढकालको भनाइ छ । अस्पतालले मेशिन खरिदका लागि यही कातिक १ गते बोलपत्र आह्वान गरेको थियो ।
‘एनसीबी’ अर्थात नेश्नल कम्पिटेटिभ बिडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मुल्य १५ करोड राखिएकोमा सोही मुल्यमै सामान खरिद गरिएको जसरी गलत प्रचार भएको अस्पताल प्रमुख डा. इन्द्र ढकालले गुनासो गरे । ‘बोलपत्रमा उल्लेख गरिएको रकममा सप्लायर्स कम्पनीले प्रतिस्प्रर्धा गर्दा सबैभन्दा कम मूल्य कबोल गर्ने कम्पनी छनोट भई उसैले खरिद गर्ने हो’ ढकालले भने, ‘समान्यतया कम्पनीले २०/२५ प्रतिशतसम्म कम मुल्यमा कबोल गर्ने प्रचलन रहेको हुँदा हामीले खरिद गर्न लागेको मेशिनको मूल्य पनि कम हुने अनुमान गरेका छौं । तर बजारमा गलत हल्ला बढी भयो ।’