
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
जापान जानका लागि नक्कली कागजात बनाइदिने दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको संख्या ९ पुगेको छ । यो प्रकरणमा निवर्तमान मन्त्री अधिकारी समेत अहिले प्रहरी हिरासतमा छन् ।
राईद्वयले खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका–२ का वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कात्तिक १३ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए ।
कागजातमा शंका लागेपछि जापानको अध्यागमनले टोकियो विमानस्थलबाटै उनीहरूलाई डिपोर्ट (निष्कासन) गरेको थियो ।
प्रहरीले यो प्रकरणमा बिचौलियाको काम गर्ने धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाललाई पनि नियन्त्रणमा लिइसकेको छ ।
पक्राउ परेकाविरुद्ध प्रहरीले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।