
चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा हिजो एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन् ।
विश्वसम्पदा सूचीमा सूचीकृत मन्दिरमा हरिबोधिनी एकादशीको दिन बिहान ३ बजेदेखि नै दर्शनार्थीको ठूलो घुइँचो लागेको थियो ।
मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बिहानदेखि रातिसम्म ५० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेको जानकारी दिए । चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरूपको रूपमा पुजिँदै आइएको छ ।
हरिबोधिनी एकादशीको दिन चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शन गर्ने गर्दछन् ।
चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गरे पनि चार नारायणको दर्शन गरे बराबरको पुण्य प्राप्त हुने मान्यता छ ।
आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवाण विष्णु हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रुपमा विशेष पूजा अर्चना गरेर मनाइन्छ ।