
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा रूपन्देही ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज (बुधबार) पनि बयान लिइँदै छ । रूपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालका अनुसार बुधबार बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा बयान लिइँदै छ ।
पोखराबाट भैरहवा ल्याएका गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्धक लामिछानेको मंगलबार ५ घण्टा बयान लिएको थियो । सम्भवतः आजै लामिछानेको बयान सकेर पोखरा पठाउने तयारी रूपन्देही प्रहरीको छ ।
मंगलबार लामिछानेले इन्कारी बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एक प्रहरी अधिकारीका अनुसार रविले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको बताएका छन् । ‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन, कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो, त्यो मलाई थाहा भएन,’ रविले बयानमा भनेको कुरा उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।
सुप्रिमबाट विस.२०७७ चैत १८ मा रविका नाममा मात्रै दुई करोड रूपैयाँ गएको देखिन्छ । रविले आफ्नो नाममा त्यसरी रकम आएको कुरालाई इन्कार गर्दै आएका छन् । रवि सूर्यदर्शन सहकारी ठगीसँगै, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते मुद्दामा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।