१० असार २०८३, बुधबार

यी हुन् कांग्रेसको आफन्त उम्मेदवार :  निधिकी जेठीसासूदेखि कोइराला परिवारका ज्वाइँसम्म

कात्तिक २४, २०७४
यी हुन् कांग्रेसको आफन्त उम्मेदवार :  निधिकी जेठीसासूदेखि कोइराला परिवारका ज्वाइँसम्म


काठमाडौँ, २४ कात्तिक- नेपाली राजनीतिको केन्द्र भागमा रहेको कोइराला परिवारबाट सधैँजसो यसपालि पनि धेरै उम्मेदवार छन् । हजुरबा एउटै अर्थात् कृष्णप्रसाद कोइराला हुन् । तर, बिपीपुत्र तथा कांग्रेस महामन्त्री डा. शशांक नवलपुर १ बाट तेस्रोपटक प्रतिस्पर्धामा छन् । कृष्णप्रसादका काइँला छोरा अर्थात् बिपीका भाइ केशवपुत्र शेखर मोरङ ६ बाट निर्वाचन लड्दै छन् । त्यस्तै, गिरिजाप्रसादपुत्री सुजाता प्रतिनिधिसभा समानुपातिकको सूचीमा खस–आर्य महिलामा पहिलो नम्बर छिन् । तीनैजना एकै परिवारका भए पनि राजनीतिमा प्रभावशाली भूमिकामा सक्रिय छन्, नयाँ पत्रिकामा खबर छ  ।

डाक्टर महत दाजुभाइ
कांग्रेसबाट दाजुभाइ डा. रामशरण महत नुवाकोट १ र डा. प्रकाशशरण महत काठमाडौं ५ बाट प्रतिस्पर्धामा छन् । दाइ महत लगातार नुवाकोटबाट निर्वाचन लड्दै आएका छन् । ०४८ को निर्वाचनबाहेक उनी हरेकपटक सफल हुँदै आएका छन् । उता, भाइ प्रकाशशरणले लगातार दुईपटक समानुपातिकबाट प्रतिनिधित्व गरेका थिए । यसपालि उनी एमाले महासचिव ईश्वर पोखरेलसँग भिड्दै छन् । उनीहरू कांग्रेसका दुई समूहका उत्तिकै प्रभावशाली नेता हुन् ।

केसी दाजुभाइ नुवाकोटमा
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी नुवाकोट २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनका भाइ एवं नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी नुवाकोट २ (क)मा प्रदेश सभामा उम्मेदवार बनेका छन् । संविधानसभाको पहिलो निर्वाचन हारेका अर्जुननरसिंहले दोस्रो निर्वाचन जितेका थिए । यसपालि उनी एमालेका नारायण खतिवडासँग प्रतिस्पर्धा गर्दै छन् । केसी परिवार नुवाकोटको राजनीतिमा प्रभावमा छ ।

देउवापत्नी आरजु प्रत्यक्ष निर्वाचनमा
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवार बनेका छन् । देउवा परम्परागत रूपमा डडेल्धुरा र पत्नी आरजु कैलाली ५ बाट लड्दै छन् । ०७० को संविधानसभा निर्वाचनमा शेरबहादुरले कैलाली ६ बाट पनि निर्वाचन जितेका थिए । अहिले क्षेत्र घट्दा सोही ठाउँमा आरजु उठेकी हुन् । आरजुले समानुपातिकबाट कांग्रेसलाई प्रतिनिधित्व गर्दै आएकी छिन् ।

कोइराला परिवारका ज्वाइँ दिलबहादुर
कोइराला परिवारकी भान्जी शैलजा आचार्यका बहिनीज्वाइँ पर्ने दिलबहादुर घर्ती यसपटक लमजुङबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । घर्ती आफैँ पनि राजनीतिमा सक्रिय छन् । उनको प्रतिस्पर्धा वाम गठबन्धनका देव गुरुङसँग हुँदै छ ।

खाणदम्पती उम्मेदवार 
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणको नाम समानुपातिकतर्फबाट एक नम्बरमा छ । उनकी पत्नी मञ्जुको नाम पनि महिलातर्फबाट समानुपातिकमै राखिएको छ । मञ्जु खस–आर्य महिला समूहको आठौँ नम्बरकी उम्मेदवार छिन् ।

खुमबहादुरपत्नी पनि सूचीमा 
कांग्रेसका अर्का प्रभावशाली नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा पनि प्रतिनिधिसभामा खस–आर्य कोटाबाट समानुपातिक उम्मेदवारको सूचीमा परेकी छिन् । भ्रष्टाचार अभियोगमा सर्वोच्चको अन्तिम फैँसलाबाट जेल सजाय भोगेका खड्का कानुनतः उम्मेदवार बन्न नपाउने भएपछि पत्नीको नाम समावेश गरिएको हो । शिलाको उम्मेदवारी महिला क्रमको नवौँ नम्बरमा छ । ०७० को निर्वाचनमा कांग्रेसले शिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । तर, खुमबहादुरले नाम फिर्ता गराएर समानुपातिकबाट सांसद बनाएका थिए ।

निधिकी जेठीसासू पनि उम्मेदवार
कांग्रेस नेता विमलेन्द्र निधिकी जेठीसासू दीपशिखा शर्मा पनि प्रतिनिधिसभा समानुपातिकमा महिलाबाट ६ नम्बरमा परेकी छिन् । दीपशिखा ०४८ मा सिन्धुली ३ बाट जितेका ध्र्रुव शर्माकी श्रीमती हुन् । पूर्वसांसद शर्माको निधन भइसकेको छ ।

महेश आचार्यका सम्धी र भान्जा 
कांग्रेस नेता महेश आचार्य स्वाभाविक रूपमा मोरङ ४ बाट उम्मेदवार छन् । तर, उनका भान्जा दीपेन्द्र ढकालले पनि प्रदेश सभा १ बाट समानुपातिकमा उम्मेदवारी पाएका छन् । त्यति मात्र होइन, आचार्यका सम्धी विश्वनाथ रिजाल पनि मोरङ ४ को (ख)बाट प्रदेश सभाका उम्मेदवार बनेका छन् ।

कोइराला परिवारका भदाज्वाइँ पनि
नोना कोइरालाका भदाज्वाइँ खिमप्रसाद भुसाल प्रतिनिधिसभाको खस–आर्य पुरुषको समानुपातिक उम्मेदवार बनेका छन् । राजनीतिमा नाम नसुनिए पनि उनी खस–आर्यको नवौँ नम्बरमा छन् ।

सीतादेवीका छोरा उम्मेदवार
कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव स्वाभाविक रूपमा मधेसी सूचीमा एक नम्बरमा छिन् । तर, उता छोरा डा. सुभाषचन्द्र यादव पनि सिरहा ३ (ख)बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्