
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि पनि संविधान मिच्ने र संसद् विघटनको कसरत हुनसक्ने भएकोले सजगता अपनाउनु पर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय प्राध्यापक संघका पूर्वसंयोजक अखिलेश्वर दासको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले देशलाई फेरि प्रतिगमनतर्फ फर्काउने प्रयासप्रति परिवर्तनका पक्षधरहरू चनाखो हुनुपर्ने बताएका हुन् ।
‘संसद् विघटन गरेर देशलाई अस्थिरताको भुमरीमा लैजाने प्रयास असफल भएको हो । अहिले पनि त्यो कोशिश हुन थाल्यो भने त्यसलाई रोक्न, परिवर्तनका हिस्सेदार र संविधानका पक्षधरहरू सजक हुनुपर्ने आवश्यकता छ,’ प्रचण्डले भने, ‘विगतको जस्तै संविधान मिच्ने र संसद् विघटनको कसरत सफल हुन नपाओस् । देशलाई फेरि प्रतिगमनतिर लैजाने कसरत सफल नहोस् ।’
अहिले सरकारको नेतृत्व गरेकाहरू संविधानसभा र गणतन्त्रका पक्षधर नभएको उनले आरोप लगाए । ‘गणतन्त्रप्रति विश्वास नभएका, संविधान बनाउने बेलामा भरोसा नभएका विचार, प्रवृत्ति र पात्रबारे सजग हुनुपर्छ,’ उनले भने, ‘अहिले बाघको छालामा स्यालको रजाइँ चलिरहेको छ । समयक्रम र घटनाक्रमले कहिलेकाही त्यस्तो पनि हुन्छ, अन्ततः परिवर्तन पक्षधरकै जीत हुन्छ ।’