२६ जेठ २०८३, मंगलबार

एयर फेयरमा काठमाडौंबाट भइरहेको ‘कार्टेलिङ’ रोक्न माग

मंसिर १, २०८१
बुटवल
एयर फेयरमा काठमाडौंबाट भइरहेको ‘कार्टेलिङ’ रोक्न माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडान थपिँदै गएपछि काठमाडौं केन्द्रित ट्राभल एजेन्सीहरूले इन्टरनेशनल टिकटमा ‘कार्टेलिङ’ गरेको भन्दै लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् ।

भैरहवा ५ वटा अन्तर्राष्ट्रिय उडान शुरू भएसँगै एयर फेयरमा काठमाडौंबाट भइरहेको ‘कार्टेलिङ’ रोक्न उनीहरूले माग गरेका छन् ।

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट) लुम्बिनी प्रदेशले शनिबार बुटवलमा गरेको 'गौतमबुद्ध विमानस्थल नियमित उडानको लागि पर्यटन व्यवसायीको भूमिका' विषय कार्यक्रममा उनीहरूले ‘सेटिङ’मा टिकट बाँडिएको दाबी गरे ।​​

नाटाका सदस्य अनिलकुमार श्रेष्ठले पहिले टिकट काट्दै आएको अहिले भैरहवा विमानस्थल चलेपछि टिकट काट्न नपाएको बताए । ‘भैरहवा विमान आउनुभन्दा अघिसम्म टिकट सजिलै काट्न पाइन्थ्यो अहिले विमान आएपछि टिकट काट्न नै पाइएन,’ श्रेष्ठले भने । 

अर्का पर्यटन व्यवसायी सुदीप श्रीवास्तवले टिकटमा काठमाडौं फेयर सस्तो र भैरहवाबाट फेयर महँगो गरिएको बताए । ‘भैरहवामा ल्याण्डिङ, पार्किङ शुल्क नभएकाले टिकट सस्तो हुनुपर्ने हो,’ उनले भने, ‘काठमाडौंभन्दा भैरहवामा सस्तो हुनुपर्नेमा झन् १५ देखि २० हजार महँगो राखिएको छ ।’ 

नाटा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले भैरहवा विमानस्थल सञ्चालनका लागि सबैको हातेमालो र ऐक्यबद्धता आवश्यक रहेको बताउँदै एयर टिकटमा भ्याटको अन्त्य हुनुपर्ने बताइन् ।​

नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम शाहले भैरहवा विमानस्थलमा अवसर र चुनौती दुवै रहेको बताउँदै दीर्घकालीन रुपमा सञ्चालनको लागि कूटनीतिक पहल आवश्यक रहेको बताए ।

उनले भैरहवासँगै देशका अन्य विमानस्थलबाट पनि उडान सञ्चालन आवश्यक रहेको बताए ।

यस्तै, पर्यटन व्यवसायी सागर अधिकारीले भैरहवा विमानस्थल प्रयोग गर्न आग्रह गरे ।

६० प्रतिशत यात्रु यही क्षेत्रका भएकाले पनि सकेसम्म विदेश जाने र आउनेले काठमाडौं केन्द्रित मानसिकता परिवर्तन गर्नुपर्ने उनको बुझाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्