
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले थारू समुदायको उन्नती र प्रगतिका लागि सरकारले काम गरिरहेको बताएका छन् ।
थारू समुदायमाथि भइरहेका विभेद र असमानता सम्पूर्ण रूपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट आफूले अगुवाइ गर्ने पौडेलले बताए । थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
२०७२ सालको संविधान निर्माणमा थारू समुदायले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उनले संविधानलाई अझै गतिशील समाजको आवश्यकताका आधारमा परिष्कृत बनाउँदै लैजानुपर्ने बताए ।
‘राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि संघर्ष गरेका दलहरूको सहभागितामा अहिलेको सरकार बनेको छ। थारू समुदायमाथि कुनै प्रकारको विभेद हुँदैन,’ उनले भने ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले थारू समुदाय आदिवासी र धर्तीपुत्र भएको बताउँदै यो समुदायप्रति गर्व गर्नुपर्ने बताए ।
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि यो समुदायको महत्त्वपूर्ण भूमिका रहेको र यो योगदान इतिहासमा स्वर्ण अक्षर लेखिने पौडेलले स्पष्ट पारे ।
‘सामाजिक सद्भाव र एकता थारू समुदायको विशेषता हो । यहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । नेपाल सबै जातजातिको फूलबारी हो,’ अर्थमन्त्री पौडेलले भने, हामीबीच तिक्तता होइन, मित्रता र एकता आवश्यक छ । यहाँहरूको प्रयास अनुकरणीय छ ।’
मन्त्री पौडेलले संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनको माध्यमबाट समाजको विकास गर्न सकिने बताए ।