२५ असार २०८३, बिहीबार

पहिरो नियन्त्रणपछि गाउँ फर्किँदैछन् विस्थापित

मंसिर २, २०८१
गोरखा
पहिरो नियन्त्रणपछि गाउँ फर्किँदैछन् विस्थापित

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो ।

गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्‍यो । 

पहिराले गाउँ नै भासिने अवस्था आएपछि खारुङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायतका ठाउँमा बसाइँ सरे ।     

पहिराले सिङ्गो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)को सहयोगमा पहिरो नियन्त्रणका काम अघि बढाएसँगै यहाँ पहिरो नियन्त्रणमा आएको छ । 

पहिरो नियन्त्रणमा आएसँगै बाध्यताले गाउँ छाडेकाहरू पुरानै थाकथलोमा फर्किन थालेको स्थानीयवासी सुकबहादुर तामाङले बताए । 'पहिरोले गाउँले सबै तितरवितर भएका थिए । अहिले पहिरो नियन्त्रणमा आएपछि गाउँ छाडेकाहरू पनि फर्किन थालेका छन् । यो वर्षदेखि बल्ल अलि ढुक्क भएको छ', उनले भने । 

जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षरोपण गरेर पहिरो नियन्त्रण गरिएको एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङ्ग गुरुङले जानकारी दिए । पहिरो नियन्त्रण भएपछि गाउँ छाडेर बसाइँ गरेकाहरू अहिले गाउँमै फर्किएको उनको भनाइ छ । अहिलेसम्म पहिरोले विस्थापित भएका छ घरपरिवार गाउँ फर्किसकेको गुरुङले जानकारी दिए । 

पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेका क्षेत्रमा गाउँलेहरूले पशुवस्तु चरनमा समेत पूर्ण रूपमा रोक लगाएका छन् । पहिरो नियन्त्रणका लागि लगाइएको अम्रिसोबाट समूह बनाएर आयआर्जन गर्ने लक्ष्यसमेत लिएको लिइएको छ ।

गाउँमा अहिले पहिरोको पूर्वसूचना दिन पूर्णचेतावनी प्रणाली जडान भएकाले स्थानीयले सुरक्षित महसुस गर्न थालेका छन् ।     

salt training

कमेन्ट गर्नुहोस्