०३ साउन २०८३, आइतबार
प्रचण्ड–ओलीले हुर्काएको एउटा प्रवृत्ति

दुर्गा प्रसाईंको नालीबेली– प्रचण्डनिवास छिरेको त्यो क्षण अनि ओलीको नाति बनेको रोचक प्रसंग

मंसिर ५, २०८१
काठमाडौं
दुर्गा प्रसाईंको नालीबेली– प्रचण्डनिवास छिरेको त्यो क्षण अनि ओलीको नाति बनेको रोचक प्रसंग

कुमाईं समूहका बाहुन जाति तेह्रथुमको आठराईबाट झापा झरेका हुन् । कुमाईंहरू प्रायः हुने/खाने, लेखापढी गरेका र चलाख हुन्छन् भन्ने मान्यता छ । हुन पनि आठराईबाट झापा बसाईं झरेका प्रसाईं, मैनाली, ओलीलगायत कुमाईं बाहुनहरू बहुसंख्यक हुने/खाने, चलाख, पढेलेखेका, गण्यमान्यमै पर्छन् । झापामा कुमाईं समूहका बाहुनहरू अलिक विपन्न वर्गका भनेर औंलामा गनिने मात्रै छन् ।

ती औंलामा गनिनेभित्र पर्ने हो दुर्गा प्रसाईंको पुर्खा । स्वयं दुर्गा पनि त्यस्तो पढालेखा छैनन् । तथापि, दुर्गा २०६३ पछिको यो पुगनपुगमा दुईदशकमा एक ‘नवधनाढ्य’ व्यवसायी बनेर कहलिएका छन् । त्यही बलमा राजनीतिक दलको उच्च नेतृत्वसँग संगत गरेका छन् । उनले राजनीतिक पहुँचबाटै सम्पत्ति आर्जन र त्यही सम्पत्ति धितो राखेर बैंकबाट अर्बौं ऋण लिने सामर्थ्य बनाएका हुन् ।

मंगलबार उनै दुर्गा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नक्कली कागजात बनाई झूटो आक्षेप लगाएको आरोपमा पक्राउ परेका छन् । राजनीतिक पहुँचबाट फाइदा लिएपछि मान्छे कहाँसम्म पुग्छ ? र, कतिसम्म मुलुकमा अराजकता फैलाउन सफल हुन्छ भन्ने उदाहरणको रूपमा दुर्गा प्रसाईंलाई लिन सकिन्छ । उनै दुर्गा कसरी व्यवसायी बन्न सके भन्ने जान्नुपर्दा उनको राजनीतिक, व्यावसायिक र ‘सामाजिक अभियन्ता’को यात्रा नागबेलीजस्तै झाँगिएको भेटिन्छ ।

पक्राउ पर्दैगर्दा दुर्गा प्रसाईं

झापाको बिर्तामोडदेखि उत्तरपट्टिका दुर्गाको पारिवारिक पृष्ठभूमि सामान्य हो । कुनै दिन औसत निम्न वर्गीय धरातलबाट वैदेशिक रोजगार, भैँसीपालन, ग्यारेजमा काम गरेका दुर्गा व्यवसायी, राजनीतिज्ञ हुँदै एकाएक अभियन्ताका नाममा चर्चामा छन् । उनी भैँसीपालनबाट सफल हुन सकेनन् । वैदेशिक रोजगार पनि फापेन । बरु जहाँ ग्यारेज सञ्चालन गरे, त्यो ठाउँ उनका लागि ‘वरदान’ सावित बन्यो ।

ग्यारेज चलाइरहेका बेला २०५८/५९ तिर दुर्गाको माओवादी पूर्वी कमान्डसँग सम्पर्क भयो । दुस्साहसी स्वभावका दुर्गाका लागि माओवादी सम्पर्क एउटा धन कमाउने माध्यम बन्यो । सरकारले तत्कालीन समयमा शाही नेपाली सेना परिचालन गरेपछि माओवादीको गतिविधि हुने पहाडी क्षेत्रमा खाद्यान्न बेचबिखनमा प्रतिबन्ध लगायो । त्यतिखेर बजार मूल्यभन्दा बढीमा खाद्यान्न लुकीछिपी पहाड पुर्‍याउने जिम्मा दुर्गाले पूरा गर्दै थिए ।

माओवादीलाई खाद्यन्न सप्लाई गरेको आरोपमा तत्कालीन शाही नेपाली सेनाले दुर्गालाई गिरफ्तार गर्‍यो । उनलाई सेनाले चारआली ब्यारेकमा राख्यो ।

झापामा २०२८ को काण्डपछि ‘सुखानी हत्याकाण्ड’लगायतका कारण जोसुकै जुन पार्टीमा आस्था राख्ने व्यक्ति पक्राउ परे पनि सबै पक्षले बचाउनुपर्छ भनेर सामूहिक पहल गर्ने एउटा संस्कृतिजस्तै छ । दुर्गालाई पनि सेनाले चारआली ब्यारेकमा राखेपछि झापाका सबै राजनीतिक दलका प्रतिनिधिहरूले उनको जीवन रक्षाका लागि पहल गरेका थिए । तीन महिनापछि उनी रिहा भए । त्यसपछि केही समय दुर्गा आमकार्यकर्ताकै हैसियतमा रहे ।

ग्यारेज चलाइरहँदा उनको एक युवतीसँग माया बस्यो । तिनै युवतीसँग विवाह पनि भयो । दुर्गाका ससुराका २ श्रीमती हुन् । दुर्गाले जेठीपट्टिका २ छोरीमध्ये कान्छीसँग विवाह गरे । दुर्गाकी दिदीसासू अझै अविवाहित छिन् । अहिले उनी बीएन्डसी अस्पतालमा महत्त्वपूर्ण पदमा कार्यरत छिन् । ससुराले कान्छी श्रीमती भित्र्याएर थोरै सम्पत्ति दिई जेठी श्रीमती (दुर्गाकी सासू)लाई छुट्ट्याइदिएका थिए ।

जमिन्दारी खलकका ससुरालाई तह लगाउने उद्देश्यले माओवादी शान्ति प्रक्रियामा आएपछि दुर्गाले आफ्नो रूप बदले । कारण एउटै थियो, ‘धनाढ्य गिरी थरका ससुराले आफ्नी सासूलाई सम्पत्तिमा गरेको अन्याय ।’ त्यो बेला माओवादीको छोइनसक्दो रापतापलाई दुर्गाले राम्रैसँग उपयोग गरे । माओवादीका ४ युवा कार्यकर्ता प्रयोग गरेर कान्छी सासूपट्टिको एक्लो सालोलाई आक्रमण गर्न लगाए । 

डरले ती युवक आफूलाई आक्रमण गर्ने ४ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दिएर विदेश पलायन भए । तर, यता अंश मुद्दा हालेर दुर्गाले धनाढ्य ससुराको जग्गा राजनीतिक पहुँचमा आफ्नो कब्जामा पारे । जेठी आमापट्टिका दिदीहरूको साथमा भेना दुर्गा पनि थिए । उनैले माओवादी प्रयोग गरेर ज्यान लिने डर देखाएकाले सालोले सम्पत्तिमा धेरै अडान लिएनन् । उनीमाथि आक्रमण गर्ने ४ जनाविरुद्धको ज्यान मार्ने उद्योगको सरकारवादी मुद्दा सर्वोच्चसम्मै पुग्यो । उक्त मुद्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि बनेको सरकारका पालमा सर्वोच्चबाट टुंगो लगाइयो ।

सासू, श्रीमती र दिदीसासूको नाममा आएको जग्गालाई दुर्गाले प्लटिङ गरे । शान्ति प्रक्रियासँगै प्लटिङका जग्गा बेचबिखनको व्यापक उछाल थियो । झापाको प्लटिङबाट हौसिएका दुर्गाले भक्तपुरमा जग्गा प्लटिङ गरे । झापामा माओवादी कार्यकर्ताले दुर्गाको आलोचना गर्थे, तर अगाडि उनै दुर्गा सबैका प्यारा थिए । दुर्गा सबैको प्यारो हुने एउटै कारण थियो, ‘माओवादी कार्यकर्ताका लागि उनी चन्दादाता थिए ।’ 

शान्ति प्रक्रिया शुरू भएलगत्तै सीपी गजुरेल भारतीय जेलबाट मुक्त भएर नेपाल आए । गजुरेलले त्यसपछि माओवादी पूर्वी कमान्डको जिम्मेवारी पाए । त्यहीबेला गजुरेलसँग उनको राम्रो हिमचिम रह्यो । दुर्गाको घरका भित्तामा गजुरेलसँगका फोटा फ्रेममा सजाइएका थिए ।

सीपी गजुरेल मोहन वैद्य समूहतिर गएपछि उनको सम्पर्क हरिबोल गजुरेलतिर सल्कियो । हरिबोल ‘यत्तिको मान्छे पार्टीलाई चाहिन्छ’ भनेर पहिलोपटक दुर्गालाई बोकेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कोमा पुगे । त्यो भेटपछि दुर्गा पछाडि फर्किनुपरेन । जिल्ला तहका नेता त के, हरिबोल पनि दुर्गाका लागि चाहिएनन् । प्रचण्डनिवास छिरेपछि प्रचण्डपुत्र प्रकाश दाहालसँग दुर्गाको घनिष्ट सम्बन्ध रह्यो । कुनैपनि बेला प्रचण्ड निवास छिर्न सक्ने हैसियतमा दुर्गा पुगे । दुर्गाका लागि प्रचण्डनिवासको गेट कहिल्यै बन्द भएन ।

दीनानाथ शर्मा शिक्षा मन्त्री भएका बेला उनले मेडिकल कलेजका लागि लाइसेन्सको निवेदन दिए । त्यो बेला उनी दीनानाथसम्म पुगेनन् । प्रचण्डकै तजबीजमा हुन्छ भन्ने निष्कर्ष उनको थियो । प्रकाशको दुःखद् निधनपछि प्रचण्डको पारिवारिक सदस्यसँग नजिक बन्ने अवसर मिल्यो । उनी प्रचण्डपुत्री गंगा दाहालका पति जीवन आचार्य (हाल कोशी प्रदेशसभा सदस्य)सँग नजिकिए । प्रचण्ड परिवारसँग दुर्गाको कति निकट सम्बन्ध थियो भन्ने एउटा उदाहरण छ ।

त्यो उदाहरण हो, दुर्गाका पिताको निधन हुँदाको । दुर्गाका पिताको निधनपछि नेकपा (माओवादी केन्द्र)को लेटरप्याडमा श्रद्धाञ्जली र समवेदना लेखिएको शोक वक्तव्य दिइयो । उक्त वक्तव्यमा भगवान, परमेश्वरसँग प्रार्थना र श्रद्धाञ्जली उल्लेख गरी एकातिर पार्टी अध्यक्ष प्रचण्डको र अर्कातिर ज्वाइँ जीवन आचार्यको हस्ताक्षर गरिएको थियो । माओवादी पार्टीको इतिहासमा त्यस्तो वक्तव्य कहिल्यै निकालिएको थिएन । माओवादीहरूले अहिलेसम्म सामान्यतया भगवान वा परमेश्वरसँग प्रार्थना गरेर श्रद्धाञ्जली दिएको विरलै देखिन्छ ।

null

प्रचण्डले दुर्गालाई व्यक्तिगत रूपमा नजिक राखेका थिए, तर सांगठनिक रूपमा जिम्मेवारी दिएका थिएनन् । नेकपा गठन हुँदा झापामा एमालेकातर्फबाट १०५ र माओवादीबाट ७१ जना जिल्ला सदस्य बनाउने सहमति हुँदासमेत दुर्गाले चाहेर पनि जिल्ला सदस्य पाएका थिएनन् । यहाँसम्म आइपुग्दा एमाले बाहुल्य रहेको झापाका एमालेहरूको आँखा दुर्गाप्रति खासै गएको थिएन ।

वाम गठबन्धनका लागि जब दुर्गाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई भक्तपुरको घरमा मार्सी चामलको भात खुवाए, त्यसपछि उनको चर्चा एकाएक चुलियो ।

दुर्गाको घरमा पुगेर मार्सीको भात खाँदासम्म प्रधानमन्त्री ओलीको समेत दुर्गाप्रति त्यस्तो चासो भएको देखिन्न । राम कार्कीको क्षेत्र काँकडभिट्टामा चुनावी सभालाई सम्बोधन गर्ने भनी प्रचण्ड झापा पुगेका थिए । यता काठमाडौंमा पुत्र प्रकाशको निधन भएको रात प्रचण्ड दुर्गाकै घरमा बास बसेका थिए । ओली भने दुर्गाको घरमा बास बसेका थिएनन् । उनी बिहान मात्रै प्रचण्डलाई भेट्न दुर्गानिवास पुगेका थिए ।

वाम गठबन्धनबाट दुईतिहाइनजिक मत प्राप्त गरेपछि एमाले–माओवादी एकता भयो । ओली प्रधानमन्त्री बने । त्यो बेला प्रधानमन्त्री ओलीको सचिवालयमा रहेका एक पत्रकारको दुर्गासँग राम्रै हिमचिम बढ्यो । त्यही माध्यमलाई दुर्गाले ओलीसँग नजिकिने अवसर बनाए । यतिसम्म कि दुर्गाले ‘बाजे–नातिको सम्बन्ध’को नातासम्म भन्न भ्याए । 

प्रधानमन्त्री ओलीसँग बाजे–नातिको सम्बन्धबारे पनि रोचक प्रसंग छ । प्रधानमन्त्री ओलीसँग नजिकिँदै गएपछि दुर्गाले कुमाईं समूहको गोत्रीय नाता खोज्न थालेछन् । प्रधानमन्त्री ओलीसँग हिमचिम भएको रवाफमा झापा पुगेर दुर्गाले ओलीनिकटहरूसँग भनेछन्, ‘प्रधानमन्त्रीज्यू त साइनोमा मेरो नाति पर्दारहेछन् ।’ त्यही कुरा प्रधानमन्त्री निकटहरूले सुनाएपछि ओलीले ख्यालख्यालमै भनिदिएछन्– ‘कहाँ हुनु, दुर्गा पो मेरो नाति हुन् ।’ तिनै कार्यकर्ताले दुर्गालाई तपाईं पो त ‘प्रधानमन्त्रीज्यूको नाति हुनुहुँदोरहेछ !’ भनिदिएपछि दुर्गाले हौसिएर झन् ठीक भयो भनेर प्रचार शुरू गर्न थालेछन् ।

तत्कालीन नेकपालाई अदालतले छुट्टिन आदेश दिएपछि दुर्गा एमालेमा बसे । दुर्गालाई नजिक मान्ने प्रधानमन्त्री ओलीको सचिवालय सदस्यहरूले व्यवसायी दुर्गा एमालेमा भनेर हौसिएर स्टाटस लेखेका थिए । त्यसको जवाफमा प्रचण्डनिकट रहेर दुर्गाको व्यवहारलाई प्रत्यक्ष भोगेका झापाकै एक नेताले लेखेका थिए, ‘दुर्गा एमालेमै रहँदा जति खुशी हुनुहुन्छ, पछि एमालेलाई त्यति नै दुःख दिँदा थाहा हुनेछ, हेक्का रहोस् ।’

एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत बनेका दुर्गाले साँच्चिकै पछिल्लोपटक ती माओवादी नेताले भनेजस्तै एमालेलाई दुःख दिइरहेका छन् । सार्वजनिक खपतका लागि कच्चा र नक्कली विषयवस्तु पस्कने गैरजिम्मेवार मिडिया तथा सामाजिक सञ्जालमा देखिने नकारात्मकताको भरपूर फाइदा लिएर दुर्गा अन्ततः अराजकता फैलाउने नाइके बनेका छन् । सामाजिक अभियन्ताका नाममा कुनै व्यक्ति, समुदाय, वित्तीय संस्थाहरूप्रति दुर्गाले गरिरहेको विषवमनले अन्ततः समाजको भविष्यलाई अँध्यारोतिर मुखरित गर्दछ ।

को व्यक्ति कति सही छ भन्ने उसको आचरणले पुष्टि गर्दछ । केही धनदौलत भएका व्यक्तिलाई काखी च्यापेर योगदान बोकेका नेता/कार्यकर्तालाई भेट्नसम्म नदिई मानमर्दन गर्दा दुर्गाजस्ता पात्रहरू उत्पादन हुन्छन् भन्ने चेत नेतृत्व वर्गमा खुल्नुपर्छ । प्रचण्ड परिवारमा पुल्पुलिएर मार्सी चामलको भातको माध्यमबाट ओलीका नातिसम्म बन्न पुग्नुमा दोष दुर्गाको मात्रै होइन, दुर्गाजस्तो अराजक जमात जन्माउने एक हिस्साको जिम्मेवारी माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि लिनुपर्छ, भलै यतिखेर दुर्गा प्रहरी हिरासतमा छन् । दुर्गाजस्ता पात्र किन जन्मिए भन्ने अध्ययन गर्ने गज्जबको अवसर नेतृत्व पंक्तिलाई जुरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्