११ असार २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

३१ जनाको उम्मेदवारी फिर्तादेखि दुर्गा प्रसाईंका सहयोगीहरुविरुद्ध पनि मुद्दासम्म

मंसिर ६, २०८१
काठमाडौं
३१ जनाको उम्मेदवारी फिर्तादेखि दुर्गा प्रसाईंका सहयोगीहरुविरुद्ध पनि मुद्दासम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएको छ । 

रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा एमाले अध्यक्षसमेत रहेका ओलीसँग जोडिएको विषयमा केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरिएको छ । 

ओलीको कम्बोडियामा लगानी रहेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एक विवादास्पद भिडियो सार्वजनिक गरेका थिए ।
००००
यसैगरी रास्वपाले बुधबार काठमाडौंमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ ।
००००
भक्तपुरस्थित दुर्गा प्रसाईंको घरबाट पक्राउ गरिएका ९ जनालाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । 

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध ९ जनालाई मुद्दा चलाउने निर्णय गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

यस्तै प्रधानमन्त्रीविरुद्ध ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको भन्दै प्रसाईं मंगलबार पक्राउ परेका थिए । उनलाई काठमाडौँ जिल्ला अदालतले बुधबार ५ दिनको म्याद दिएको छ । 
००००
नेकपा एमालेको जागरण सभाका संयोजक बनेका नेता राजन भट्टराई कम्बोडिया प्रस्थान गरेका छन् ।  पार्टीले मंसिर ७ गते काठमाडौँमा तय गएको जागरण सभा छाडेर उनी गएराति कम्बोडिया प्रस्थान गरेका हुन् । 

बुधबार साँझ भट्टराई भट्टराईले फेसबुकमार्फत बिहीबारदेखि हुने आइसीएपीपीको १२ औँ अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागी हुनुपर्ने भएकोले त्यसतर्फ गएको बताएका छन् । सभामुख पनि कम्बोडिया जाने तय भएको छ । 
००००
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । 

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको दाबी गरेका छन्। 

नेकपा माओवादी केन्द्र गोरखाले सदरमुकाममा बुधबार आयोजना गरेको एक कार्यक्रममा उनले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायत महत्त्वपूर्ण काम माओवादीको नेतृत्वमा सम्भव भएको बताए ।
००००
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवार्ई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । 

हवाई भाडावृद्धिबारे मन्त्रालयमा छलफलका लागि बोलाइ वायुसेवा कम्पनीहरुलाई भाडा वृद्धिबारे पुनर्विचार गर्न निर्देशन दिएका हुन् ।
००००
चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजारको विद्युत् भारत निर्यात भएको छ ।  

नेपाल विद्युत् प्राधिकरणले गत साउन, भदौ,असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको हो ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न निगम र पुल्चोक इन्जिनियरिङ क्याम्पसबीच सम्झौता भएको छ ।
००००
आफूलाई ‘अन्डरवल्र्ड’को ‘अन्डर कभर एजेन्ट’ हुँ भन्दै फिरौती असुलेको आरोपमा प्रहरीले एक जना एमबीबीएस डाक्टरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर घर भई हाल ललितपुरको महालक्ष्मीस्थान बस्ने डा। आशिष दाहाल छन् ।
००००
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफ्नो दलको ३२ सिटको जादु नम्बरको नाममा खेल्न थालेपछि कांग्रेससँग मिलेको बताएका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै ज्ञवालीले दलहरूबीच खेलिरहने प्रचण्डको शैलीले दुई दल मिल्नुपरेको बताएका हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बुधबार ९ दशमलव ०९ अकंले बढेर नेप्से परिसूचक २ हजार ७ सय ११ दशमलव ७५ अंकमा पुगेको हो । 
००००
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् । पाँच दिने भ्रमणका लागि उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरे ।

salt training

कमेन्ट गर्नुहोस्