१९ असार २०८३, शुक्रबार

जुम्लामा एउटै वडामा फल्यो तीन करोडको सिमी

मंसिर ६, २०८१
काठमाडौं
जुम्लामा एउटै वडामा फल्यो तीन करोडको सिमी

जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यस वर्ष तीन करोड रूपैयाँ बराबरको सिमी उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो ।   

जुम्लाको आठवटा स्थानीय तहमध्ये सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडा नं १ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए । विगतमा आठ क्विन्टलभन्दा बढी उत्पादन नहुने गरेकामा यस वर्ष बढी खेती गर्नेले १५ क्विन्टल र कम खेती गर्नेले चार क्विन्टलसम्म सिमी उत्पादन गरेका छन् । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब ८० प्रतिशतले उत्पादन वृद्धि भएको हो । 

वडाध्यक्ष बस्नेतले गाउँमा सिँचाइको सुविधा पुर्‍याउन चालु आर्थिक वर्षमा वडा कार्यालयले ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए । यसअघि सिँचाइको सुविधा नहुँदा यहाँका किसानलाई आकासे पानीको भर पर्नुपरेको थियो । गाउँमा पानी पुर्‍याउन स्थानीय सरकारले निरन्तर योजना बनाएर कार्यान्वयन गरिरहेको उनको भनाइ छ ।

सिमी बढी उत्पादन हुने वडा नं १ मा दुई सय ९० परिवार छन् । अहिले गाउँमा पुगेर व्यापारीले प्रतिकेजी दुई सयका दरले सिमी खरिद गर्ने गरेका राराका स्थानीय नर रावतले जानकारी दिए । वडालाई सिमी उत्पादनको पकेट क्षेत्रसमेत मानिएको छ । सिमी लगाउने र फल्ने मौसममा वर्षा हुनुका साथै सहज सिँचाइ सुविधा भएपछि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।  

गाउँका किसानलाई लक्षित गरेर ‘एक गाउँ एक उत्पादन’को रणनीति ल्याएर स्थानीय तहले काम गरिरहेको छ । गाउँबाट सबैभन्दा बढी सिमी उत्पादन गर्ने किसानलाई प्रोत्साहनसमेत गरिने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् । उक्त वडाको मुख्य आम्दानी सिमी र स्याउ हो । अब सिमी र स्याउ खेतीलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट यहाँका किसानलाई अनुदान उपलब्ध गराइने उनले उल्लेख गरिन् । 

सिमीको पकेट क्षेत्र भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाले तिला–१ रारालाई सिमी जोन कार्यक्रम लागू गरेको छ । उक्त पालिको वडा नं १ सहित २, ८ र ९ वडाको आठ सय क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख खेमराज शाहीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्