
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाको अदुवा बीउ खरिदमा अनियमितता गरेको भन्दै दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएपछि उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बालिविकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइराला समेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर अख्तियारले पुनरावेदन गरेको हो ।
आयोगका अनुसार अदुवा बीउ खरिद प्रक्रियामा नगरप्रमुख भुपराज अधिकारीसहितका अधिकारीहरूले मापदण्डको उल्लंघन गर्दै गुणस्तरहीन बीउ खरिद गरी स्पुक ट्रेडर्स प्रालिलाई गैरकानूनी लाभ पुर्याएका थिए । यसबाट गल्याङ नगरपालिकालाई झन्डै दुई करोड रूपैयाँभन्दा बढीको हानी पुगेको आरोप छ।
विशेष अदालतले अदुवा खरिदको गुणस्तर र मूल्य निर्धारण सम्बन्धी प्रमाण पर्याप्त नभएको भन्दै सफाइ दिएपनि आयोगले मिसिलका प्रमाणहरूको उचित मूल्यांकन नगरिएको दाबी गर्दै फैसलालाई त्रुटिपूर्ण रहेको जिकिरसहित पुनरावेदन गरेको हो ।