
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।
सेनाध्यक्ष द्विवेदीले भोलि नै रक्षामन्त्री मानवीर राईलाई समेत भेट्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री ओलीलाई दिउँसो २ बजेपछि भेट्ने तय भएको जनाइएको छ ।
द्विवेदी नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी थाप्न नेपाल आएका हुन् । उनलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरे ।
प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत उपस्थित थिए ।
द्विवेदीले बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । भेटमा भारत र नेपालको आपसी हित र पारस्परिक सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
दुई देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिनेबारे दुवै सैनिक प्रमुखबीच छलफल भएको छ ।
सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन्। नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।