०५ साउन २०८३, मंगलबार

सुकुटी बेचेर मासिक दुई लाख कमाइ

मंसिर ७, २०८१
मोरङ
सुकुटी बेचेर मासिक दुई लाख कमाइ
फाइल तस्वीर

बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको  हो । 

विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले शुरू गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । ६ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन् । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उनले बताए । 

रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय शुरू गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा अहिले ६ सयदेखि सात सय किलो सुकुटी बनाउने गरेका छन् । 

उनका अनुसार 'स्वदेशी बजारभन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग गर्छन्, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन ।' विदेशमा रहेका नेपालीमा कोसेलीको रूपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पुर्‍याउन नसकिरहेको श्रेष्ठ बताउँछन् । प्रतिकिलो दुई हजारमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक दुई लाखसम्म आम्दानी भइरहेको उनी बताउँछन्। 

वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आएका शोभितमान श्रेष्ठ नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आएका छन् । साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उनी बताउँछन् । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उनले बताए । 

विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उनले बताए । पूर्व-पश्चिम राजमार्ग भएर यात्रा गर्ने र धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरू आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउँछन् । लक्ष्मीमार्गको परिचय यहाँको सुकुटी बनिसकेको उनले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्