
तीन स्थानमा हुने अलग-अलग विरोध प्रदर्शन र सभाका कारण राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गर्दा माइतीघरमण्डलामा सहकारीपीडित र कोटेश्वर–बालकुमारीमा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले प्रदर्शन गर्दैछ ।
एमालेले एक लाख कार्यकर्ता सडकमा उतार्ने बताएको छ । तीन स्थानमा प्रदर्शन हुने भएपछि सडकमा सवारी व्यवस्थापन अस्तव्यस्त हुने देखिएको हो ।
यसका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट र डाइभर्सन राखेको छ । ५ हजारको संख्यामा प्रहरी खटाइएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार ११३ स्थानमा ट्राफिक चेक प्वाइन्ट र डाइभर्सन राखिएको छ ।
सडकमा ६४४ जना ट्राफिक प्रहरी खटिएको जानकारी उनले दिए । एमालेको सभामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सम्बोधन गर्नेछन् ।
दरबारमार्गमा सुरक्षा व्यवस्था सँगै ट्राफिक डाइभर्सनको व्यवस्था समेत मिलाइएको जानकारी काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले दिए ।
उनका अनुसार उक्त स्थानमा प्रवेश गर्न खोज्ने सवारी साधनलाई ट्राफिक प्रहरीले बिहानैदेखि केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट डाइभर्सन गरेको छ ।
ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वर–बालकुमारी क्षेत्रमा सकभर सवारी नरोक्ने योजना बनाएको छ ।
प्रदर्शनकारीको चापलाई हेरेर एकतर्फी सडकमा दोहोरो सवारी चलाउन दिने तयारी गरेको जानकारी एसएसपी चतुर्वेदीले दिए ।