
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १७ गतेबाट हुने चीन भ्रमण अत्यन्तै सफल हुने दाबी गरेका छन् ।
काठमाडौंमा शुक्रबार पार्टीले गरेको जागरण सभालाई सम्बोधन गर्दै ओलीले भ्रमण अत्यन्तै सफल बनाउने गरी तयारी भएको बताएका हुन् ।
‘प्रधानमन्त्रीको हैसियतमा यही मंसिर १७ गतेबाट चीनको भ्रमणमा जाँदै छु । चीन भ्रमण अत्यन्तै सफल हुन्छ । चीनबाट फर्किएपछि कसरी सफल भयो, थाहा पाउनुहुनेछ । म पनि भन्नेछु,’ ओलीले भने, ‘त्यत्तिकै चीन घुमेर आउन होइन, देशको भलाइका लागि जान लागको हुँ ।’
विदेश सम्बन्ध र भ्रमणलाई उदाहरणीय बनाउने पक्षमा आफू रहेको उनले बताए ।
छिमेकीसँग सुदृढ सम्बन्ध बनाउन चाहेको भन्दै ओलीले कता पहिले जाने भन्ने कतै नलेखिएको बताए । सबै छिमेकीसँग पारम्परिक सम्बन्ध राख्न चाहेको उनले बताए ।
‘हामी भौगोलिक अखण्डताको रक्षा गर्दै, राष्ट्रिय हित गर्दै छिमेक सम्बन्धलाई सुदृढ बनाउन चाहन्छौं । तर, पहिले कता जानुपर्ने कता गयो भन्ने हल्ला छ । कता जानुपर्ने ?,’ ओलीले प्रश्न गर्दै भने, ‘धर्मशास्त्र, कानून, संयुक्त राष्ट्र संघको बडापत्रमा कहाँ लेखिएको छ, पहिले कहाँ जानुपर्ने भनेर ? यो सबै वाहियात हो । सबै छिमेकीसँग पारस्परिक सम्बन्धका आधारमा समान व्यवहार गर्छौं । कोही सत्रू छैन । वैरभाव राख्दैनौं ।’