
केही समयअघि हामी संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा पुगेका थियौं । फ्लोरिडा पुगेपछि हाम्रो काम नै घुमफिर गर्ने भयो । हाम्रो पहिलो यात्रा नासा थियो ।
बिहानको खाना खाएर टेम्पाबाट हतार गर्दै साढे आठ बजेतिर हामी निस्कियौं । दस लेनको ‘वान वे’ बाटोमा हामी रफ्तारमा गुडिरहेका थियौं । बाटाका छेउछाउमा बाक्लो जंगल देखिन्थ्यो । नेपालमा गरीबहरू जंगलमा र धनीहरू शहरमा बस्छन् । तर, अमेरिकामा उल्टो हुँदोरहेछ । जंगलभित्र धनाढ्य मानिसहरूको बस्ती हुँदोरहेछ, धनीहरू जंगलमा र गरीबहरू शहरमा बस्दा रहेछन् ।
जंगल सकिनासाथ सुन्तलाको ठूलो बगैंचा देखियो । बोटमा लटरम्म सुन्तला पाकिरहेका थिए । सुन्तला देखेर सपनाका मुखमा पानी आयो । उनले मन थाम्न नसकेर विस्तारै भनिन् ‘सुन्तला किनेर खान पाएनि हुन्थ्यो । कति मजाका सुन्तला !’
ज्वाइँले जवाफ दिनुभयो– ‘हाइ वेमा गाडी रोक्न पाइँदैन । ओरल्याण्डोमा यहाँका सुन्तला बेच्न राखेको हुन्छ, त्यही लिउँला ।’
हामी एकनासले गुडिरह्यौं । ओरल्याण्डो आयो, हामीले एउटा ग्यास स्टेसनमा गाडी पार्किङ गर्यौं । नेपालमा भन्ने गरेको पेट्रोलपम्पलाई अमेरिकामा ग्यास स्टेसन भन्छ । हो, ग्यास स्टेसनमा गाडी पार्किङ गरेपछि हामी स्टेसनभित्रको डिपार्टमेन्टल स्टोरमा छिर्यौं । हामीलाई ‘रेस्टरुम’ जान पनि हतार भइरहेको थियो ।
ओरल्याण्डोमा एक डलरको दुई दानाका दरले ४० दाना सुन्तला किन्यौं । सुन्तला किनेर फेरि हामी बाटो लाग्यौं । हामी सुन्तला खाँदै त्यसका बोक्रा, दाना र धर्सा गाडीभित्रैको डस्टबिनमा राख्दै अगाडि बढ्यौं । गाडीभित्रको डस्टबिन भरिएपछि नजिकै पर्ने ग्यास स्टेसनमा गएर कन्टेनरमा हालिदियौं ।

झलक्क आफ्नो देश सम्झिएँ । एकदिन म बाइकमा गुड्दागुड्दै आफ्नै छेउको बसभित्र बस्ने कुनै भद्र व्यक्तिले सुन्तलाका केस्रा बाहिर सडकमा फाल्दा मेरा टाउकामा लागेको थियो । त्योबेला मलाई लागेको थियो हामीमा आत्मानुशासनको भावना कहिले आउँला ?
खुब रमाइलो लाग्ने ओरल्याण्डोको डाउनटाउन हुँदै हामी नासातिर बढिरहेका थियौं । अमेरिकामा कुनै पनि शहरको सबैभन्दा अग्लाअग्ला घर भएको ठाउँलाई डाउनटाउन भन्दा रहेछन् । त्यस्तो डाउनटाउन विशेषगरी गहिरै ठाउँमा हुँदो रहेछ । डाउनटाउन हुँदै दुवैतिर समुद्र नै समुद्रका बीचमा बनाएको बाटोबाट गुड्दै हामी संसारभरिका वैज्ञानिकहरूको तीर्थस्थल मानिने नासा पुग्यौं ।
अन्तरिक्षका विषयमा खोज, अनुसन्धान गर्ने र विशेषगरी रकेट प्रक्षेपण गर्ने नासामा केके मात्र होला भनेर हेर्ने खुल्दुली र हुटहुटी भइरहेको थियो । ज्वाइँले चलाउनुभएको गाडी गुडिरहेको थियो ।
नासाको पार्किङमा गाडी राखेर ठूलाठूला रकेट तेर्सिएका ठाउँतिर आफ्ना पाइला चाल्यौं । त्यहाँ हजारौं मानिस टिकटका लागि लाइनमा बसेका थिए । हामी पनि लाइन लाग्यौं । टिकट लिइसकेपछि हामी नासाका महत्वपूर्ण कुराको अवलोकन गर्न तयार भयौं । त्यहाँबाट नासाका अवलोकन कर्तालाई त्यहींका बसहरूमा राखेर सबै क्षेत्रमा घुमाइँदो रहेछ । बसमा चढ्न पनि पालैपालो अनुशासित रूपले चढ्दा रहेछन् । हामीमा त्यस्तो धैर्य र अनुशासन कहिले देखापर्ला भन्ने सोच्दै थिएँ । हामीलाई लिने बस आयो । हामी पनि हतार र ठेलमठेल नगरी बस चढ्यौं ।
हामीलाई लिएर गुडिरहेको बसलाई एक ट्राफिक प्रहरीले रोके । त्यहाँ सबै गाडीहरू रोकिएका थिए । गाडी रोक्नुको कारण हामीले केही बुझेका थिएनौं । केही बेर मै सुन्यौं त्यहाँ अन्तरिक्षबाट एउटा रकेट बगरमा ल्याण्ड गरेको रहेछ । नासाको बालुवा नै बालुवा भएको समुद्र किनारमा रकेट बसेपछि अन्तरिक्ष यात्रीहरूलाई लिन एम्बुलेन्सहरू छिटो छिटो त्यहाँ पुग्दो रहेछ । रकेटलाई चाहिँ ठूलाठूला डोजरहरूले तानेर नासाको हातासम्म ल्याउँदा रहेछन् । हामीले त्यो दृष्य नजिकैबाट नियाल्यौं।

ठूल्ठूला रकेटै रकेट भएका ठाउँबाट हामी हिँड्न थाल्यौं । त्यहाँ निल आर्मस्ट्रङहरूले अन्तरिक्षको यात्रा गर्दाका पोशाकहरू विशेष महत्वका साथ राखिएको रहेछ । पहिला पहिला अन्तरिक्षको यात्रा गर्ने अन्तरिक्ष यात्रीहरूको डमी साँच्चै आकर्षक रूपमा राखिएको रहेछ । त्यहाँ गएका मानिसहरू तिनै अन्तरिक्ष यात्रीहरूका डमीसित उभिएर फोटा खिचाउँदा रहेछन् । तिनीहरूसित फोटो खिचाउँदा साँच्ची मानिसहरूसितै खिचाएजस्तो हुने रहेछ । मैले पनि ती अन्तरिक्ष यात्रीसित उभिएर फोटो खिचाएँ ।
त्यहाँ चन्द्र धरातलमा गुडेको गाडी पनि राखिएको रहेछ । सपना र म पनि त्यो गाडीमा चढेर चन्द्रधरातलमा गुडेको रसानुभूति गर्नथाल्यौं ।
रकेट कसरी चल्छ, त्यसमा यात्रीहरू कसरी बस्छन्, कसरी अन्तरिक्षमा यताउति घुम्छन् भन्ने कुरा देखाउन त्यहा एउटा फिल्म पनि देखाइँदो रहेछ । रातो चस्मा लगाएर सबै जना एउटा हलभित्र प्रवेश गर्यौं । त्यहाँ रकेटमा यात्रीहरू बसेको, उनीहरूले अन्तरिक्षमा ट्युबहरूमा खाएको, भाररहित भएर यताउति उडेको कुरा देख्दा अनौठो अनुभूति भयो ।
त्यसपछि हामीलाई झण्डै एकघण्टा जति अन्तरिक्षको यात्रा गराइयो । एक पटकमा ५० जना जतिलाई एउटा विशाल रकेटमा बसाउँदा रहेछन् । त्यहाँ निर्देशन भएअनुसार रकेटभित्र प्रवेश गरेपछि एक एक कुर्सीमा बसेर त्यहाँ भएको कम्मरपेटीले जिउ टिमिक्क पारेर आफूले आफैंलाई कस्यौं ।
आफ्नो टाउको मेचमा पछाडिपट्टि जोडसित टाँसेर सामुको डण्डीलाई दुवै हातले जोडसित समात्यौं । त्यसो गर्नुको तात्पर्य रकेट अन्तरिक्षतिर प्रक्षेपण हुँदा जोडले थर्किंदो रहेछ । शरीर दह्रो पारेर पछाडितिर नटाँस्ने र अगाडिको समात्ने बस्तुलाई जोडसित नअँठ्याउने हो भने कम्मर र ढाड मर्किन सक्ने सम्भावना हुने कुरा त्यहाँ हामी सबैलाई जानकारी गराइएको थियो ।
हामी बसेको केही बेरमै अत्यन्त ठूलो आवाज निकालेर हामी चढेको रकेट उढ्न थाल्यो । रकेट उड्नेवित्तिकै त मेरो सातोपुत्लो जालाजस्तो भयो । तर, केही बेरपछि त त्यस्तो घर्षण र आवाज आउन निकै कम भयो । हामी बसेको कुर्सी पूरै सुत्यो । हामी पूरै सुत्यौं । अन्तरिक्षयान सोझै आकाशतिर उडेको हुँदा त्यस्तो भएको होला भन्ने मैले ठम्याएँ ।
लाग्यो हामी धेरै माथिमाथि पुगिसकेका थियौं । मलाई बोइङ ७४७ विमान चढेभन्दा पनि माथि पुगेको अनुभूति भैरहेको थियो । त्यसबेला चर्को कानखाने आवाज पनि आउन छाडेको थियो । यान शान्त भएर चलिरहेको थियो ।
‘ड्याडी हामी अहिले स्पेसमा छौं, हेर्नुहोस् न पृथ्वी त कस्तो उज्याले पिण्ड पो देखिँदोरहेछ,’ छोरी साधनाले भनिन् । म रोमाञ्चित भएँ र औधी रोमाञ्चित ।
मैले पनि त्यहाँबाट पृथ्वीलाई गम्भीरतापूर्वक नियालें । हो, साँच्चै आकर्षक र उज्यालो देखिएको थियो हाम्रो पृथ्वी । ज्वाइँ प्रकाशले भन्नुभयो, ‘अन्तरिक्षबाट पृथ्वीमा देखिने एउटा कुरा चीनको पर्खाल भन्थे त्यो कुन रहेछ भनेर म नियालिरहेछु ।’ उहाँ निकै गढेर पृथ्वीतिर हेर्दै हुनुहुन्थ्यो ।
त्यसैबीच सपनाले भनिन् ‘ऊ त्यहाँ हेर्नुहोस् त एउटा बाङ्गोटिङ्गो लामो धर्सो देखिन्छ नि कतै त्यही त होइन ग्रेटवाल अफ चाइना ? हो, हो त्यही हो,’ हाम्री छोरी साधनाले ठोकुवा गरिन् । ज्वाइँले पनि त्यसमा सही थाप्नुभयो, ‘ए होजस्तो छ ।’
एक घण्टा जतिको अन्तरिक्ष यात्रा सकेर हामी चढेको अन्तरिक्ष यान फेरि पृथ्वीमा अवतरण हुन थाल्यो । विस्तारै आवाज बन्द भयो । यानका ढोका खुले । हामीले कम्मरपेटी खोल्यौं अनि विस्तारै बाहिर निस्कियौं । मलाई साँच्चै अन्तरिक्षको यात्रा गरेर फर्किएजस्तो एकतमासको अनुभव भएको थियो ।

वास्तवमा हामीलाई लिएर अन्तरिक्षयान उडेको चाहिँ होइन रहेछ । हामीलाई अन्तरिक्षयानमा चढेर उडेको अनुभूति गराइको मात्र रहेछ । अनि अन्तरिक्षको यात्रामा देखिने कुराहरू जस्ताको त्यस्तै त्यसै कृत्रिम यानबाट देखाइँदो रहेछ ।
हामीले त्यही यान वास्तविक ठानेर अन्तरिक्षयानबाट यात्राका क्रममा देखिएको हाम्रो प्यारो पृथ्वीको तस्विर खिच्न पनि बाँकी राखेनौं ।
अन्तरिक्षको यात्रा सकेर हामी यानबाट बाहिर निस्कियौं । त्यहाँ अन्तरिक्षको यात्रामा जान ठिक परेका मानिसहरूको लाइन थियो । त्यहाँबाट निस्केपछि हामी हाम्रो निवास टेम्पातिर लाग्यौं ।