२५ जेठ २०८३, सोमबार
धिरजको संघर्ष र उपलब्धि

ह्वीलचियरबाट दुई अर्बको उद्योग हाँकिरहेका युवा उद्यमी

मंसिर ८, २०८१
बुटवल
ह्वीलचियरबाट दुई अर्बको उद्योग हाँकिरहेका युवा उद्यमी

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन भएको २०६२/०६३ को जनआन्दोलन धिरज अग्रवालका लागि ‘कालो दिन’ बनेर आइदियो ।

पश्चिम नवलपरासीको रामग्राम बुद्धचोकका धिरज त्यो बेला भर्खरै १३ वर्षमा टेकेका थिए । आन्दोलनले घर बाहिर निस्कने अवस्था थिएन । उनी छतबाट हरेक दिन प्रहरी र प्रदर्शनकारीबीच हुने झडप र नाराबाजी अवलोकन गर्थे । एकदिन धिरज अकस्मात् छतबाट भुइँमा खसे । 

आन्दोलनले अस्पतालमा प्रभावकारी उपचार हुने सम्भावना थिएन । उपचारका लागि उनलाई भारतका विभिन्न अस्पतालमा पुर्‍याइयो ।

सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गरे पनि उनी शारीरिकरूपमा उनी पुरानै अवस्थामा फर्किन सकेनन् । ‘स्पाइनल इन्जुरी’को समस्याले उनलाई सधैंलाई ह्वीलचियरको सहारामा बाँच्नुपर्ने बनाइदियो । 

आफ्नो स्वास्थ्य अवस्था देखेर केही समय उनी सम्हालिन सकेनन् । कठोर संघर्षले मनलाई दरिलो बनाउँदै परासीकै सयपत्री बोर्डिङ स्कूलमा उनले पढाइलाई निरन्तरता दिए । सोही विद्यालयमा विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरे । 

जन्म, हुर्काइ र पढाइ परासीमै गरेका धिरज शारीरिक अवस्थाका कारण आफ्नो उच्च शिक्षा अघि बढाउन सकेनन् । धिरजका बुवा अनिल पनि निर्माण सामग्री सिमेन्ट र डण्डीको व्यापार गर्थे । बाल्यकालमा डाक्टर बनेर बिरामीको सेवा गर्ने सोच राखेका धिरजले औपचारिक शिक्षामा पूर्णविराम लगाउँदै पारिवारिक ‘लिगेसी’अनुसार उद्योग सञ्चालन गर्ने निचोडमा पुगे ।

बुवाको मारूती टेडर्सलाई ह्वीलचियरमा हिँडेर थोक व्यापार गर्नेगरी उनले विक्रम संवत् २०७४ मा मारुती ट्रेड कन्सर्न शुरूआत गरे ।

बिजनेस विस्तार गर्न त्यतिबेला व्यापारमा दुई करोड लगानी विस्तार गरेको उनले बताए । ‘मेरो शारीरिक अवस्था यस्तो नभएको भए म उद्योगमा आउने थिइँन,’ उनी भन्छन्, ‘डाक्टर बन्ने थिएँ । तर, समय परिस्थितिले मलाई उद्योगी बनाइदियो ।  कोही पारिवारिक रूपमा उद्योगी बन्छन्, कोही पछि जोडिन्छन् । ‘म चाहिँ बिजनेसबाट उद्योगमा आएको हुँ । हाम्रो पुस्तामा उद्योग चाहिँ मैले अघि बढाएको हुँ ।’

कोही पारिवारिक विरासतबाट उद्योगी बन्छन् भने कोही पछि जोडिन्छन् । आफूलाई परिस्थितिले उद्योगी बनाएको भन्दै उनी भन्छन्– ‘म चाहिँ बिजनेसबाट उद्योगमा आएको हुँ । हाम्रो पुस्तामा उद्योग मैले अघि बढाएको हुँ ।’

धिरजको बिजनेस दिनप्रतिदिन फस्टाउँदै गयो । अलकत्रा (बिटुमिन) र औद्योगिक कच्चा पदार्थ आयात गरेर बिक्री गर्ने डीआर ट्रेडर्स पनि स्थापना गरी उनको फर्म २०७५/०७६ मा राज्यलाई सर्वाधिक आयकर बुझाउने कान्छा उद्योगीको रूपमा उनी दर्ज भयो । त्यो बेला धिरज २६ वर्षका थिए । 

अरूका उद्योगबाट उत्पादित सामग्री खरिद गरेर बिक्री गर्नुभन्दा आफूले उद्योग सञ्चालन गर्दा उत्तम हुन्छ भन्ने सोच धिरजमा विस्तार भयो । संघर्षबाट बिजनेसमा सफलता पाइरहेका धिरजले विक्रम संवत् २०७६ को अन्त्यतिर फलामे पाइप उत्पादन गर्न १ अर्ब रुपैयाँको लगानीमा टेन स्टिल उद्योग खोले । त्यसको अर्को वर्ष धिरजले फेरि प्लम्बिङ सामान उत्पादन गर्ने टेन प्लास्ट उद्योग शुरूआत गरे । 

उद्योग र बिजनेसको नेतृत्व गरेका ३२ वर्षका धिरज आफ्ना उद्योगका उत्पादन स्वदेशसँगै विदेशमा पनि निर्यातको तयारीमा रहेको बताउँछन् ।

ह्वीलचियरबाट दुई अर्बभन्दा बढीको उद्योग हाँकेका उनी समाजमा उदाहरणीय पात्र बनेका छन् । अपाङ्गता भएता पनि कैंयौ सबलभन्दा सक्रियता र सक्षमताका साथ छोटो समयमा नै उनले औद्योगिक क्षेत्रमा गरेको प्रगति र सफलता लाखौं नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेका छन् । 

null

उनका ‘इण्डष्ट्रिज र ट्रेड’बाट ३००  जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आफूले कक्षा १० सम्म मात्र अध्ययन गरेकोले आफ्ना उद्योगको नाम टेनबाट शुरू गरेको उनी बताउँछन् ।

‘मेरो जीवनमा ठूला आरोह अवरोह आए,’ धिरज भन्छन्, ‘त्यसबाट विचलित भइँन । अहिले यो अवस्थामा पनि जुझारु युवा उद्यमीभन्दा सबैभन्दा धेरै आत्मसन्तुष्टि मलाई मिल्छ । निःस्वार्थ लागेपछि, अध्ययन गरेर लागेपछि सफलता प्राप्त हुँदो रहेछ ।’ 

टेन प्लास्ट र टेन स्टिलका उत्पादन गुणस्तरीय र उपभोक्ताको रोजाइमा छन्  । उद्योगले गुणस्तरलाई  पहिलो प्राथमिकतामा दिन्छ । उद्योगसँग जोडिएका धिरजले आफ्ना उत्पादनलाई बजारमा स्थापित गर्न सफल भएका छन् । 

डटेर लाग्दा जस्तोसुकै अवस्थामा पनि नहुने भन्ने केही रहेनछ भन्ने उनले बुझेका छन् । सन्तुष्टिलाई सम्पन्नता मान्ने धिरजले नेपालमा उद्योगको सम्भावना देखेर ठूलो लगानी गर्ने आट लिएको बताउँछन् । नेपाली उत्पादनले अब मल्टिनेशलन कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने तर्क उनको छ । शारीरिक अवस्थाभन्दा काम गर्ने दृढ इच्छाशक्ति र नयाँ भिजनले जुनसुकै काममा सफलता हासिल गर्न सकिने धिरजको बुझाइ छ ।

‘शरीरले होइन, दिमाग र भिजनले सबै लिड गर्ने हो,’ अग्रवाल भन्छन्, ‘अपाङ्गता हुँदैमा कसैले पनि हीनताबोध र आफूलाई कमजोर ठान्नुहुन्न, मनमा दृढ संकल्प गर्ने हो भने सबलाङ्गजस्तै जुनसुकै क्षेत्रमा पनि सफलताको शिखर चुम्न सकिन्छ ।’

धिरजले निकट भविष्यमा चुनढुंगा खानी र सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनको तयारी गर्ने सोचमा छन् । ‘निकट भविष्यमै आफ्नो ब्रान्डको छड र त्यसपछि सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ,’ धिरजले आगामी योजना सुनाए । 

सरकारले स्वदेशी उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति र कानून बनाई कार्यान्वयन गर्ने हो भने देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर र निर्यात गर्न सकिने धिरजको आत्मविश्वास छ । ‘सरकारका भन्सार नीतिहरू अझै स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने खालका हुन सकेका छैनन्, कच्चा पदार्थ आयातमा लाग्ने भन्सार र अन्तःशुल्कले फलामे पाइप उद्योगहरू संकटमा छन्, अर्बौं लगानी भएका १० वटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्, यसतर्फ सरकारको ध्यान जानुपर्छ,’ धिरजले भने ।

धिरजका बुवा पनि शारीरिक रूपमा अशक्त छन् । धिरजका एक मात्र भाइ अभिषेक र आमाले समेत धिरजलाई अघि बढ्न साथ दिएका छन् ।

‘म शारीरिकरूपमा अशक्त भए पनि आमा, बुबा र भाइको साथ र हौसलाले कोरोना महामारीको विश्वव्यापी असरबाहेक अरू हिसाबले दुई वटै उद्योग र दुई वटा कम्पनीमा पछाडि फर्केर हेर्नुपरेको छैन, मेरो यात्रा निरन्तर अगाडि बढेको छ ।’ 

स्वदेशमा पारिवारिक र सामाजिक समस्याले विदेश जानुभन्दा देशमै केही गर्न सुझाव धिरजको छ । युवा पलायनले देशको भविष्य अन्धकार हुने भन्दै जनसंख्या नभएको ठाउँमा विकास र समृद्धि आउँदैन भन्ने सरकार जागरूक हुनुपर्छ । धेरै युवा विदेशिएर अर्थतन्त्र सुस्ताएको छ । देशमा वस्तु र सेवाको माग शिथिल हुनुका पछाडि युवाको विदेश गमन कारण रहेको उनी मान्छन् । 

दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए रोजगार र देशमै व्यवसाय गर्न सकिन्छ भन्ने उनको विश्वास छ । ‘सरकारको भरोसा र आशामा मात्र बसेर गाली गर्दैमा देश बन्दैन,’ उनले कुराकानी बिट मारे ।

salt training

कमेन्ट गर्नुहोस्