
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने बताएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको ११औं स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा उनले ८० को दशकलाई राष्ट्रिय स्वाधीनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने बताए ।
विगतमा नेकपा (माओवादी)मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै उनले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैं काम गरिरहने प्रतिबद्धता जनाए ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाइ गरेका कतिपय कम्युनिस्ट पार्टीमा उतार-चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दै आएको बताए ।
केन्द्रीय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र बेरोजगारलगायतकारण युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको बताए ।
तत्कालीन नेकपा (माओवादी)बाट अलग भइ विक्रम संवत् २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गरेको थियो ।
सभाअघि स्थापना दिवसका अवसरमा आयोजित झाँकीसहितको र्यालीले नगर परिक्रमा गरेको थियो ।