
रोल्पा, ५ कात्तिक- नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता वर्षमान पुन ‘अनन्त’लगायत निर्वाचन प्रचारमा रहेका उम्मेदवारहरुलाई लक्षित गरी नपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले वम फिस्फोट गराएका छन् । ओत र घर्तिगाउँको बीचमा पर्ने भिताबाङ भन्ने ठाउँमा सडकमा एम्बुस थापेर नेकपाका कार्यकर्ताले विस्फोट गराएका हुन् ।
शनिबार विहान १०ः३५ बजे भएको विस्फोटमा परी अनन्त सवार गाडि र सुरक्षाका लागि स्कर्टिङमा रहेको क्षति पुगेको छ । अनन्त लगायत अन्य उम्मेदवारहरु भने सकुशल छन् । शुक्रबार साँझा सुकीदह गाउँपालिकाको सुखाओडारमा चुनावी सभा सम्पन्न गरेर शनिबार विहान दुई खोली गाउँपालिका राङ्सीमा आयोजित चुनावी सभामा भाग लिन अनन्त लगायतको टोली भिताबाङको सडक हुँदै अगाडि बढेका थिए ।
अनन्त सवार गाडि र स्कर्ट गाडिको बीचमा एम्बुस विस्फोट भएको थियो । अनन्तको गाडि भन्दा दुई मिटर अगाडि फिस्फोट भएको एम्बुसले सडकमा ठूलो खाडल परेको छ । अनन्तसँगै उक्त गाडिमा प्रदेश सभा सदस्य उम्मेदवार दिपेन्द्र पुन पनि थिए । माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार जयपुरी घर्ती, एमालेका पोलिट्व्यूरो सदस्य तथा रोल्पा जिल्ला निर्वाचन परिचालन समिति संयोजक गोकुल घर्तीलगायत चढेको गाडिमा भने कुनै क्षति पुगेको छैन ।
यो विस्फोटले हाम्रो अभियान रोकिदैन : अनन्त
वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा रोल्पाबाट उम्मेदवार दिएको प्रचार अभियानमा रहेका अनन्तले आफूहरुको हत्याको योजनासहित बम विस्फोट गराई पनि आफ्नो निर्वाचन प्रचार अभियान नरोकिने बताएका छन् ।
‘उम्मेदवारहरुको हत्या गर्ने योजनाले सडकमा एम्बुस विच्छ्याएर विस्फोट गराइएको छ,’ अनन्तले भने, ‘हामी बाँच्न सफल भयौँ । तर यो विस्फोटले हाम्रो निर्वाचन अभियान रोकिदैन ।’ उनले उम्मेदवारहरुको सुरक्षामा गम्भीर ध्यान दिन सरकारलाई आग्रह गरे । उनले अपराधिक कृयाकलाप बन्द गर्न नेकपा चेतावनीसमेत दिए । ‘उम्मेदवारहरुको सुरक्षामा सरकारले गम्भीर ध्यान दिनुपर्छ,’ उनले भने, ‘म अपराधिक घटनाको घोर भ्रत्सना गर्दछु । यस्तो अपराधिक क्रियाकप नगर्न चेतावनी समेत दिन्छु ।’ निर्वाचन प्रचार टोली अहिले घर्तिगाउँ हुँदै राङसीतर्फ बढेको । आज अनन्तले राङसीमा हुने चुनावी सभालाई संबोधन गर्नेछन् ।