
नेपाल वायु सेवा निगमले कुनै पनि उडान प्रभावित नगर्न पाइलटहरूलाई अनुरोध गरेको छ । निगमको अपरेसन विभागले आइतबार एक सूचना जारी गर्दै केही पाइलट सुनियोजित देखिनेगरी बिरामी बिदामा बस्दा उडान प्रभावित भएको भन्दै आ-आफ्नो रोस्टरअनुसार उडानमा संलग्न हुन अनुरोध गरेको हो ।
निगममा कार्यरत पाइलटहरूको सेवा सुविधा बढाउने सम्बन्धमा निगम व्यवस्थापनको तर्फबाट विभिन्न चरण र मितिमा आवधिक जानकारी गराइराखिएको जनाउँदै निगमले यस सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सचिवसमेत निरन्तर लागिपरिरहेको जनाएको छ ।
आइतबार निगमका कार्यकारी अध्यक्षले आफ्नो सचिवालय र बजार व्यवस्थापन विभागका निर्देशकसहित अर्थमन्त्री र पर्यटनमन्त्रीसँग छलफल गरेको गरेको निगमले जनाएको छ । छलफलमा चालकहरूका (क्याबिन क्रु) मागबारे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सकारात्मक रहको र पर्यटनमन्त्रीले समस्या समाधानका लागि पहल गरिरहेको निगमको सूचनामा उल्लेख छ ।
पाइलटहरूले नियमित उडान नगर्दा निगमलाई आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको बताउँदै यसलाई निगम व्यवस्थापनले गम्भीर रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
पाइलटहरूको सुविधा वृद्धिको लागि पर्यटन मन्त्रालयका सचिवले आज अर्थमन्त्री पौडेलसँग छलफल गर्ने समय तालिका रहेको निगमले जनाएको छ ।
निगमका क्याबिन क्रुहरूले विगत केही महिनादेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आइरहेका छन् ।